भरतपुरमा डोजर चल्नुमा महानगरको भूमिका छैनः मेयर दाहाल

नारायणगढ । भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले सडक बिस्तारको क्रममा पुलचोकदेखि गोन्द्राङसम्म चलाइएको डोजरमा भरतपुर महानगरपालिकाको कुनै पनि भूमिका नरहेको स्पष्ट पारेकी छन् । नेपाल सुनचाँदी व्यवसायी संघ चितवनले नारायणगढमा आज आयोजना गरेको व्यवसायीहरूको समस्या बारेमा ध्यानाकर्षण तथा सम्मान कार्यक्रममा बोल्दै यस्तो बताउनुभएको हो । सडक डिभिजन कार्यालयले सडक विस्तारको क्रममा घरटहरामा डोजर चलाएको बताउँदै मेयर दाहालले यो काममा आफूहरुको भूमिका नभएको बताएकी हुन् ।

नगर प्रमुख दाहालले पुलचोकदेखि गोद्राङसम्मको सडक बिस्तारको क्रममा भएको क्षति पहिल्याउनका लागि सरोकारवालासँग छलफल गरी महानगरले विशेष क्षतिपूर्तिको पहल गर्ने बताइन् । व्यवसायीहरूको समस्याहरू समाधान गर्नका लागि स्थानीय सरकारले पुलको रूपमा आफू सक्रिय भएर लाग्ने नगर प्रमुख दाहालले दाबी गरिन् ।

सुनचाँदी व्यवसायीहरूले ढुक्कसँग व्यवसाय सञ्चालन गर्न पाउने वातावरण निर्माण गर्न आफू शसक्त रुपमा लाग्ने उनले बताएकी छन् । सुनचाँदी व्यवसायीहरूको समस्या निराकरण गर्नका लागि आफ्नो तर्फबाट सकारात्मक भूमिका रहने उनको विचार छ । कार्यक्रममा चितवनका पुराना सुनचाँदी व्यवसायी रणेन्द्र बराली नेकपा माओवादी केन्द्रबाट समानुपातिक तर्फबाट प्रतिनिधि सभा सदस्य चयन भएकोमा सम्मानित गरिएको छ । सांसद बरालीलाई सुनचाँदी व्यवसायी संघ चितवनका अध्यक्ष डा।यमबहादुर विश्वकर्माले सम्मान गरेका हुन् । विश्वकर्माले व्यवसायीहरूको समस्याहरुको बारेमा जानकारी गराउँदै उक्त समस्याहरु शसक्तरुपमा सदनमा उठाउनका लागि ध्यानाकर्षण पत्र हस्तान्तरण गरे ।

ध्यानाकर्षणपत्र ग्रहण गर्दै सांसद बरालीले भने, ‘व्यवसायीहरूको अन्तर वेदना मैले बुझेको छु । व्यवसायीको मुद्दाहरु शसक्तरुपमा सदनमा उठाउने छु । सुनचाँदीमा भइरहेको कालाबजारी न्यूनिकरणका लागि आफू शसक्त रुपमा लाग्ने छु ।’ कार्यक्रममा नेपाल सुनचाँदी व्यवसायी महासंघका तृतीय उपाध्यक्ष विपिन रामुदामुले शुभकामना व्यक्त गरेका थिए ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु