सिमोन चौधरी-
चितवन । होटल व्यवसायी महासंघको चौथो राष्ट्रिय सम्मेलन तथा महाधिवेशन मंगलवारदेखि चितवनको भरतपुरमा सुरु भएको छ । महाधिवेशनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालले उद्घाटन गर्नुभयो ।
उद्घाटन कार्यक्रमलाई संवोधन गर्दै मेयर दाहालले नेपालको पर्यटन प्रर्वद्धनसँगै रोजगारी क्षेत्रमा होटल व्यवसायले महत्वपूर्ण भूमिका खेलेको बताउनुभयो । भरतपुर महानगरले पर्यटन प्रर्वंद्धनसँगै लगानीका विषयमा पनि निजी क्षेत्रसँग सहकार्यगर्दै आएकाले गुणात्मक ढंगले स्टार लेभलदेखि साना तथा मझौला किसिमका होटल खुल्ने क्रम बढ्दै गएको उहाँले जानकारी दिनुभयो ।
महानगरले यहि वर्ष लगानी सम्मलेनगर्न लागेको समेत मेयर दाहालले जानकारी दिनुभयो । कुनकुन क्षेत्रमा सम्भावना छ भन्ने विषयमा अध्ययन गरी स्वदेशी तथा विदेशी लगानीकर्तालाई महानगरले निमन्त्रणा गर्न लागेको उहाँको भनाई छ । कार्यक्रममा व्यवसायीहरुले पेशागत सुरक्षा नभएका कारण आफुहरु पलायन हुनुपर्ने अवस्था सृजना भएको बताएका छन् । होटल व्यवसायी महासंघका संस्थापक अध्यक्ष माधव प्रसाद नेपालले बैंकले आफुखुशी बढाएको व्याजदर घटाईदिन सरकारलाई आग्रह गर्नुभयो । अधिकाङस होटलहरु बैंकबाट ऋण लिएर संचालनमा रहेको जानकारी दिँदै संस्थापक अध्यक्ष दाहालले ८ प्रतिशत ब्याजदरमा लिएको ऋण बढाएर १६ प्रतिशत पुगेको र यो अवस्था व्यवसायीहरुले धान्न सक्ने अवस्थामा नरहेको स्पष्ट पार्नुभयो ।
नेपालको पर्यटन प्रर्वद्धनमा होटल व्यवसायीहरुको योगदान महत्वपूर्ण रहेको गैर आवासीय नेपाली संघका प्रवक्ता सोम सापकोटाले बताउनुभयो । होटल स्थापनापछि मापदण्ड बनाएर खानाको गुणस्तरमा जिम्मेवार बन्न सकियो भने नेपाल घुम्न आउन विदेशी पाहुनाहरुलाई निम्तो दिन आफुहरुलाई कुनै समस्या नहुने बताउनुभयो । कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष नारायण प्रसाद अधिकारी, होटल संघ नेपाल,हानका केन्द्रीय सदस्य ज्ञानेन्द्र कुमार विष्ट लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । वरिष्ठ उपाध्यक्ष दिनेश कुमार चुकेले स्वागत मन्तव्य राख्नुभएको कार्यक्रम होटल व्यवसायी महासंघ नेपालका केन्द्रीय अध्यक्ष हिराध्वज शाहको अध्यक्षतामा आयोजना गरिएको हो ।
कार्यक्रममा भरतपुर महानगर क्षेत्रभित्रका पर्यटकी गन्तव्यहरुको अवस्था र सम्भावनाको विषयमा पर्यटन विज्ञ डा. विश्व सुवेदीले कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । ६२ जिल्लाका ७ सय प्रतिनिधि तथा पर्यवेक्षक महाधिवेशनमा सहभागी छन् । ७५ सदस्यीय नयाँ कार्य समिति चयनगर्दै बुधवार महाधिवेशन सकिनेछ ।
((००))