चितवन – बागमती प्रदेशका सांसद उत्तम जोशीले नागरिक उड्ड्यन प्राधिकरणका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीसँग भेटघाट गरेका छन्। जोशीले आज (मंगलबार) दिउँसो प्राधिकरणको कार्यालयमै पुगेर अधिकारीसँग भेट गरेका हुन् । भेटका क्रममा जोशीले भरतपुर विमानस्थलसँगै जोडिएको भरतपुर १० स्थित युनिक टोल बिकास संस्थाका केही जग्गामा देखिएको समस्या समाधान गर्न अधिकारीको ध्यानाकर्षण गरेका थिए ।
सांसद जोशीले जग्गा विमानस्थलको धावनमार्गमा पर्छ भन्दै धितो मुल्याङ्कन रोक्दा स्थानीय ठूलो समस्या परेकोले तत्काल समाधान गर्न माग गरेका थिए । उनले प्रदेश सांसदको हिसाबले आवश्यक समन्वय गर्न तयार रहेको भन्दै छिटो भन्दा छिटो निकाश दिन महानिर्देशकको ध्यानाकर्षण गराए ।
त्यस क्षेत्रमा केही जग्गा विमानस्थलको धावनमार्गमा पर्ने भन्दै धितो मुल्यङ्कन समेत रोकिएको छ । स्थानीय धुर्व सुवेदीका अनुसार त्यस क्षेत्रको जग्गाको धितो मुल्यङ्कन रोकिदा जग्गा राखेर बैंकबाट ॠण लिन नपाउने, खाली जग्गामा घर बनाउन नपाउने, बनाएकाले थप्न नपाउने जस्ता समस्या रहेको छ ।
जोशीले यसरी जनता समस्यामा परेको भन्दै समाधानमा ढिला सुस्ती नगर्न पनि आग्रह गरेका थिए । जवाफमा महानिर्देशक अधिकारीले स्थानीय तह र प्रशासनले आवश्यक सहजिकरण गरे छिट्टै समस्या समाधान हुने बताए ।