चितवन । चितवनको थारु गाउँ यतिबेला जितीयामय बनेको छ । पर्सीदेखि थारु समुदायमा जितीया पर्व सुरु हुँदैछ । थारु समुदायले चितवनमा धुमधामका साथ जितीया पर्व मनाउने गरेका छन् । भगवान जितवाहनको नाउँमा महिलाहरुले विशेषत निरहार ब्रत बस्छन् । जितीया पर्वको पूर्व सन्ध्यामा चितवनका सबैजसो थारु गाउँघरमा जितीया पर्वको रौनकता छाएको छ । आ-आफ्नो जातिय भेषभुषामा सजिएर झम्टा पार्दे रमाइलो गरिरहेका छन् । आज मात्रै चितवनका विभिन्न ठाउँमा सामुहिक कार्यक्रम गरी रमाइलो गरेका छन् ।
पूर्वी चितवनको बछौली गाउँमा किसान महिला समुहले डटखट खाने कार्यक्रम आयोजना गरेको छ । रत्ननगर नगरपालिकाको वडा न.ं ६ बछौलीमा आयोजना गरिएको कार्यक्रममा वडा अध्यक्ष किरण चौधरी प्रमुख अतिथि रहनुभएको थियो ।
किसान महिला समुहका अध्यक्ष इनु चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा सन्ध्या गिरीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा थारु अगुवा सत्य नारायण चौधरीले जितीया पर्वको महत्व र यसलाई मनाउने तरिकाको बारेमा बोल्नुभएको थियो । कार्यक्रममा नारायण महतो, वडा सदस्य बविता चौधरी, लगायतले बोल्नुभएको थियो । कार्यक्रममा थारु दिदि बहिनीहरुले झम्टा नाच र ठेकरा नाच प्रस्तुत गरेका थिए ।
यसैगरी पूर्वी चितवनकै खैरहनी नगरपालिकाको वडा नं ५ सलौलीमा पनि जितीया विशेष कार्यक्रम आयोजना गरिएको छ । सगरमाथा युवा क्लवलले आयोजना गरेको कार्यक्रममा स्थानीय दिदिबहिनीहरु झम्टासँगै गायक रोहित सिंह चौधरी लगायतका गायक गायिकाहरुको गीतमा झुमे ।
रोहित सिंह चौधरीले ‘झम्टा परइ हमरा झम्टा परई बोलको गीत गाउँदा दिदि बहिनीहरुले नाचेर साथ दिए । उनले बेलाबेला मोटुपतुलुको क्यारिकेचरले पनि केहिबेर माहोल ततायो । यस्तै
कार्यक्रममा राष्ट्रिय गायक मिलन लामाको समेत प्रस्तुती रहयो । उनले हमार थारु गाउँमा हावा चलई सरसर बोलको गीत गाउँदा थारु चेलीहरुले राम्रो हुटिङ गरे । थारु गाउँघरमै आफुपनि हुर्की बढेकोले थारु समुदायको चाडपर्व आफ्नै चाडपर्व झै लाग्ने गरेको भन्दै गायक लामाले स्टेजमै जितीयाको कथा बाचन गर्न भ्याए । .
कार्यक्रममा स्थानीय गायक फिलिप चौधरी, धिरज चौधरी र मायरा चौधरीसँगै प्रकाश चौधरीले गीत गाएका थिए ।
क्लबका अध्यक्ष लक्ष्मण चौधरीको अध्यक्षतामा आयोजना गरिएको कार्यक्रममा खैरहनी नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष छत्रनाथ सुवेदी प्रमुख अतिथि रहेका थिए । कार्यक्रममा बोल्दै वडा अध्यक्ष सुवेदीले यस्ता खालका गतिविधिले नेपाली कलासंस्कृति संरक्षणमा टेवा पुग्ने विस्वास व्यक्त गरे । वडाले यस्ता खालका कला संस्कृति संरक्षणको पाटोलाई सधै प्राथमिकतामा राख्दै आएको समेत बताए ।
कार्यक्रमको अन्तिम समय सम्म वडा अध्यक्ष मञ्चमै बसेर आयोजक र सहभागीलाई हौसला प्रदान गरे ।
यस्तै वडा नं. ६ का वडा सदस्य छन्नुराम चौधरीले यस्ताखालका गतिविधिले थार समुदायलाई एकजुट बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताए । थारु समदाुय एकजुट हुन नसक्दा सधै ओझेलमा पर्दै गएको समेत उनले टिप्पणी गरे ।
कार्यक्रममा थारु पत्रकार संघ चितवनका अध्यक्ष दिपेश चौधरीले महिलाहरु चुलो चौकामा मात्र सिमित हुन नुहने धारणा व्यक्त गरे । महिलाहरुलाई सीप मुलका तालिम दिएर व्यासायिक रुपमा अर्थोपार्जनका लागि प्रेरित गर्न सके ठूलो अर्थ राख्ने बताए । उनले क्षमता अभिबृद्धिका लागि तालिम दिएर आफ्नो हक र अधिकारका लागि बोल्न सक्ने र अधिकार खोज्ने सक्ने बनाउनका लागि सरोकारवालाहरु जुट्नपर्नेमा जोड दिए ।
कार्यक्रमका संयोजक जितेन्द्र चौधरी, र सदस्य सोनु चौधरीले सञ्चालन गरेको कार्यक्रममा क्लवकी सदस्य लक्ष्मी चौधरीले स्वागत मन्तव्य राखेकी थिईन् । आर्थिक व्यवस्थापन समितिका संयोजक देवेन्द्र चौधरी, कल्वकी सदस्य भोजिया महतो लगाएतले मन्तव्य राखेका थिए ।
पर्सी ३१ गते थारु कल्याणकारिणी सभा क्षेत्र नं ९ को आयोजनामा कालिका नगरपालिकाको पदमपुरमा जितीया विशेष कार्यक्रम आयोजना हुँदैछ । यस्तै बहेरा गाउँ र बहेरीगाउँको संयुक्त आयोजनामा कंकाली स्कुलमा कार्यक्रमहुँदैछ ।