भदौ १९, चितवन। पूर्वी चितवनको खैरहनी नगरपालिकाका जनप्रतिनिधिहरुद्वारा १०० दिनमा गरेका कामहरुको प्रगति विवरण सार्वजनिक गरिएको छ । नगरपालिकाले पत्रकार सम्मेलनको आयोजना गरी सय दिनमा गरिएका काम आइतवार सार्वजनिक गरेको हो ।
नगरपालिका गेटदेखी चैनपुर चोकसम्म , चैनपुर चोकदेखी लदरी पुलसम्म , मगनी चोकबाट उत्तर दक्षिण दुबैतर्फ नालासहितको आपाङ्गमैत्री पैदल मार्गसहितको सडक निर्माणको प्रक्रिया अगाडी बढेको नगर प्रमुख शशि कुमार खनियाँले जानकारी दिए । उक्त क्षेत्रमा नगर यातायात गुरुयोजना बमोजिमको मापदण्ड भित्र पर्ने भौतिक संरचना हटाउन सूचना जारी गरिएको र लागत अनुमान गरि ठेक्का खोल्ने अन्तिम तयारीमा रहेको छ । त्यस्तै डिज्नी पार्कनजिक पम्पा खोलाको पुलदेखी पुरानो बाबा ग्याँससम्मको खोलाको दुवै साइडमा ड्याक निर्माण गरि मोटरेबल बाटो र हरियाली पार्क निर्माणको लागि डिपिआरको प्रक्रिया अगाडी बढेको नगर प्रमुख खनियाँले बताए ।
नयाँ जनप्रतिनिधि आउना साथ खैरहनी नगरपालिका वडा नम्बर २ र ३ को सिमानामा रहेको लदरीको क्षतिग्रस्त पुलमा तत्कालै ट्रष्ट ब्रिज राखी पैदलयात्रीदेखी ३ पाङ्ग्रे सावारीसाधन आवतजावतमा सहज बनाइएको थियो । त्यस्तै नगरपालिकाले विभिन्न कार्यक्रमहरु सहज रुपमा सम्पन्न गर्न ८ वटा कार्यविधि तयार गरेको छ । विपन्न नागरिक स्वास्थ्य विमा कार्यक्रम संचालन कार्यविधि २०७९ , बा आमा स्वास्थ्य कार्यक्रम कार्यविधि २०७९ , नगर खेलकुद विकास समिति गठन र संचालन सम्बन्धि कार्यविधि २०७९ , विद्यालय शिक्षा तथा उच्च शिक्षा छात्रवृति व्यवस्थापन कार्यविधि २०७९ , युवा क्लब गठन तथा संचालन सम्बन्धि कार्यविधि २०७९ , विपन्न कृषक परिवारलाई करेसावारी खेतीमा प्रोत्साहन कार्यक्रम संचालन कार्यविधि २०७९ , प्रमुखसँग युवा कृषि कार्यक्रम संचालन कार्यविधि २०७९ र खैरहनी नगर अस्पताल संचालन तथा व्यवस्थापन कार्यविधि २०७९ तयार गरिएको नगर प्रमुख खनियाँले बताए । खैरहनीमा अभिभावकविहिन बालबालिकालाई शिक्षा र पोषणको लागि प्रति व्यक्ती १६ हजारको दरले ६ जनालाई रकम दिएको , अपाङ्गता भएका १४ जना व्यक्तीहरुलाई ह्विल चियर वितरण गरिएको , कान नसुन्नेहरुलाई हियरिङ एड मेसिन वितरण गरिएको , खैरहनी नगर अस्पतालको सेवालाई विस्तार गर्न अस्पतालमा भिडियो एक्सरे मेसिन खरिद गरिएको , कृषि सहकारीलाक्ष्ई बिउ प्रशोधनको लागि मेशिन हस्तान्तरण , धान मकै सुकाउने मेसिन हस्तान्तरण , किसानहरुलाई मल्चिङ्ग प्लाष्टिक वितरण , भूमिहिन दलित , भूमिहिन सुकुम्वासीको सबै वडामा निस्सा वितरण गरिएको र वडा नम्बर १३ बाट ऐलानी जग्गा नापजाँच सुरु गरिएकोे छ ।
त्यस्तै नगर उपप्रमुख कविता उप्रेतीले खैरहनी नगरपालिकालाई बालश्रममुक्त घोषणाँको तयारी गरेको बताइन् । बालश्रममुक्त नगर घोषणाको लागि प्रत्येक टोल तथा वडामा बाल समूह गठन गरिएको , अपाङ्गता भएका व्यक्तीहरुलाई राज्यबाट पाउने सुविधाको लागि कार्डहरु वितरण गरिएको उनले जानकारी दिइन् । १०० दिनमा १ सय ११ जनालाई रातो कार्ड र १ सय २५ जनालाई निलो कार्ड वितरण गरिएको उपप्रमुख उप्रेतीले दावी गरिन् । १०० दिनको अवधिमा न्यायिक समितिमा १२ वटा निवेदन परेकोमा ११ वटा फछ्यौट भएको र एउटा मुद्धा अदालत पठाइएको उप प्रमुख उप्रेतीले बताइन् ।