भदौ १६, भरतपुर । आदिवासी जनजाति पत्रकारहरूले पत्रकारहरूलाई संगठित बनाउने पहिलो व्यक्ति सत्य नारायण श्रेष्ठ भएको दाबी गर्दै विगत लामो समयदेखि आन्दोलन गर्दै आइरहेको छ। तर, नेपाल पत्रकार महासंघले भने पूर्व प्रधानमन्त्री समेत रहेका नेता कृष्ण प्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ। आदिवासी जनजाति पत्रकारहरूको दाबीअनुसार नभएको भन्दै नेपाल पत्रकार महासंघको ध्यानाकर्षण गराउँदै बिहीबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज०ले देशभरका सबै जिल्ला शाखामार्फत नेपाल पत्रकार महासंघलाई नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायण श्रेष्ठ नै भएको दाबी गर्दै ज्ञापनपत्र नै बुझाएको छ।
फोनिजको केन्द्रीय समितिले गरेको निर्णयानुसार बिहीबार फोनिजको चितवन शाखाले पनि पत्रकार महासंघको चितवन शाखालाई ज्ञापनपत्र बुझाएर महासंघको संस्थापक अध्यक्ष श्रेष्ठ नै भएको दाबी गर्दै पत्रकार महासंघले सँच्याउनुपर्ने सुझाव दिएको छ।
पत्रकार महासंघले वास्तविकताविपरीत निर्णय गरी तत्कालीन नेपाल पत्रकार संघको केन्द्रीय अध्यक्ष भट्टराई हो भन्दै आदिवासी जनजातिमाथि अन्याय गरेको फोनिजको ठहर छ। विगतका इतिहास र विभिन्न खालका तथ्य–तथ्यांकले पनि पत्रकार महासंघको अध्यक्ष श्रेष्ठ नै भएको फोनिजले बताउँदै आएको छ।
वि.सं. २०१२ चैत १६ गते तत्कालीन अवस्थामा ‘नेपाल पत्रकार संघ’ पुनर्गठन भएपछि बल्ल कृष्णप्रसाद भट्टराई सभापति बनेको फोनिजले बुझाएको ज्ञापनपत्रमा उल्लेख छ। ‘वि.सं.२००८ साल वैशाख ९ गतेको भेलाले श्रेष्ठको नेतृत्वमा नेपाल पत्रकार संघ गठन भएको इतिहास छ,’ फोनिजसँग भएको तथ्यांकबारे जानकारी गराउँदै फोनिज चितवनका अध्यक्ष रमेश रानामगरले भने, ‘२००९ साल वैशाख २८ गते पुनः श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार संघ गठन भएको पाइन्छ। त्यसैले सत्यनारायण श्रेष्ठ नै नेपालको पत्रकार महासंघमा संस्थापक अध्यक्ष हुनुहुन्छ।’
ज्ञापनपत्र बुझ्दै नेपाल पत्रकार महासंघ चितवन शाखाका अध्यक्ष नारायणप्रसाद अधिकारीले पनि चितवन शाखाको ध्यानाकर्षण भएको भन्दै केन्द्रीय समितिलाई जानकारीका साथ पठाउने वचन व्यक्त गरे।