काठमाण्डौं । पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल आगामी पुस १७ गतेबाट सञ्चालनमा आउने भएको छ।
आज बसेको नागरिक उड्ड्यन प्राधिकरण सञ्चालक समितिको बैठकले उक्त विमानस्थल सन् २०२३ को जनवरी १ देखि सञ्चालनमा ल्याउने निर्णय गरेको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए।
‘जनवरी १ बाट पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याउने निर्णय भएको छ,’ प्रवक्ता निरौलाले भने। पोखरा एयरपोर्ट २०० हेक्टर जमिनमा बनेको छ। यसमा २।५ किलोमिटर लामो र ४५ मिटर चौडाइको एउटा धावनमार्ग छ। यसले धेरैमा वार्षिक १० लाखसम्म यात्रुलाई सेवा दिन सक्ने बताइएको छ।
सुरूमा यो विमानस्थल सन् २०२१ जुलाईमा निर्माण हुने भनिएको थियो। तर कोरोना महामारी र लकडाउनका कारण निर्माणमा ढिलाइ भएको आयोजनाले बताएको छ।