मकवानपुर, १७ साउन । मकवानपुरगढी गाउँपालिका–५, बुङदोलमा श्रीमतीको हत्या अभियोगमा एक पुरुष पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार ४५ वर्षीय मानबहादुर शिवभक्तिलाई आफ्नै ४० वर्षीया श्रीमती दुर्गालक्ष्मीको हत्या गरेको आरोपमा पक्राउ गरिएको हो। श्रीमती पक्षघातको बिरामी भई हिँडडुल गर्न नसक्ने अवस्थामा रहेकी थिइन्। सोही कारणले मानसिक तनावमा परी घाँटी थिचेर हत्या गरेको आरोपमा मानबहादुर पक्राउ परेका हुन्।
प्रहरी नायब उपरीक्षक श्यामु अर्यालका अनुसार घटना हुँदा घरमा अन्य कोही नभएको मौका छोपी मानबहादुरले श्रीमतीको हत्या गरेका थिए। पक्राउ परेका शिवभक्तिले प्रहरीसमक्ष आत्महत्या गर्न पनि खोजेको तर झुन्डिन खोज्दा डोरी चुँडिएपछि आफू प्रहरी सम्पर्कमा आएको बयान दिएका छन्।
दुर्गालक्ष्मीको शव परीक्षणका लागि हेटौंडा अस्पताल पठाइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।–00–


