९ श्रावण, २०७९
दोलखा — दोलखाको तामाकोसी गाउँपालिका-४ मालुखोला बजारमा पहिरोसहितको बाढीले १५ भन्दा बढी घरमा क्षति पुर्याएको छ । आइतबार राति अविरल वर्षासँगै आएको पहिरो र बाढीले मालुखोला बजारका घरहरूमा क्षति पुर्याएको हो ।
बस्तिमाथीबाट आएको बाढीले मालुखोला बजारका ४ वटा पसल पुरेको छ भने बेसीका करिब दर्जन घरमा क्षति पुर्याएको प्रहरीले जनाएको छ ।
बाढी पसेर क्षति गरेका घरबाट स्थानीयलाई उद्धार तथा सामान सार्ने काम भैरहेको छ । थप क्षतिबाट जोगाउन उनीहरूलाई सुरक्षित स्थानमा लागिएको प्रहरीले जनाएको छ । यस्तै बाढीले क्षति पुर्याएपछि पुष्पलाल राजमार्गको मालुखोला क्षेत्रमा यातायात अवरुद्ध बनेको छ । ११ केभीको विद्युत् प्रसारण लाइनमा समेत बाढीले क्षति गरेपछि तामाकोसी, मेलुङलगायत क्षेत्रमा विद्युत् अवरुद्ध बनेको छ ।