राप्ती, असार २८
नयाँ जनप्रतिनिधिको पाँचौँ कार्यपालिका बैठकले राजमार्गका तीन–तीन स्थानमा सार्वजनिक शौचालय र प्रहरी बिट निर्माण गर्ने निर्णय गरेको हो ।
नगरपालिकाको खुरखुरे, भण्डारा र गड्यौलीमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको नगरप्रमुख शमशेर लामाले जानकारी दिए । यी स्थान बजारीकरणतर्फ उन्मुख छन् । ‘लामो तथा छोटो दूरीका सवारीमा यात्रा गर्ने यात्रुहरुलाई मध्यनजर गर्दै चोक–चोकमा शौचालय बनाउन लागिएको हो’, नगरप्रमुख लामाले भने, ‘शौच गर्न भौँतारिने यात्रुलाई यसबाट सहजता मिल्नेछ ।’
यात्रुहरुको सहजताका लागि राप्ती नगरपालिकाले पूर्व–पश्चिम राजमार्गको चोक–चोकमा सार्वजनिक शौचालय निर्माण गर्ने भएको हो ।
राप्तीको वीरेन्द्रनगर र लोथर चोक बजारमा सार्वजनिक शौचालय छन् । तर, अन्य स्थानमा बजारीकरणतर्फ उन्मुख रहेकाले शौचालयको आवश्यकता महसुस गरिएको प्रमुख लामाले बताए । राजमार्गसँगै जोडिएको जग्गामा शौचालय बन्नेछ । त्यसका लागि जग्गाको व्यवस्थापन भइसकेको लामाले जानकारी दिए ।
यस्तै, बैठकले नगरपालिकाको वीरेन्द्रनगर, भण्डारा र गड्यौलीमा प्रहरी बिट निर्माण गर्ने पनि निर्णय गरेको छ । राप्तीमा अहिले पूर्व–पश्चिम राजमार्गको लोथरमा अस्थायी प्रहरी चौकी छ भने वडा नम्बर–९ को अमृतपानीमा अस्थायी प्रहरी बिट रहेको छ । नगरप्रमुख लामाका अनुसार शौचालय र प्रहरी बिट निर्माणका लागि बजेटको व्यवस्थापन भइसकेको छ ।
जिल्लामा दररेट आउनेबित्तिकै शौचालय र बिटको काम सुरू हुने उनले बताए । ‘सुरक्षा संवेदनशीलतामा हामी चिन्तित छौँ’, नगरप्रमुख लामाले भने, ‘प्रहरी बिट निर्माणपछि सडक दुर्घटनामा कमी आउनुका साथै अन्य क्षेत्रको पनि सुरक्षा हुनेछ ।’
इलाका प्रहरी कार्यालय भण्डाराका प्रहरी निरीक्षक कुमार गुरूङ सडक सुरक्षाका लागि राजमार्गको अन्य ठाउँमा प्रहरी बिट आवश्यक रहेको बताउँछन् । ‘खुरखुरेदेखि भण्डारासम्म सवारी दुर्घटना अत्यधिक हुने गरेको छ’, प्रहरी निरीक्षक गुरूङले भने, ‘प्रहरी बिट स्थापनापछि दुर्घटना नियन्त्रणसँगै अन्य सुरक्षालाई मद्दत पुग्नेछ ।’ स्थानीयवासी, जनप्रतिनिधिको मागअनुसार प्रहरी बिटमा जनशक्ति उपलब्धताका लागि प्रक्रिया पनि अघि बढिसकेको प्रहरी निरीक्षक गुरूङले बताए ।
‘सुरक्षाका विषयमा निर्वाचित जनप्रतिनिधि, स्थानीयले निकै चासो र गम्भीरता देखाएका छन्’, उनले भने, ‘उनीहरुको मागअनुसार आवश्यक जनशक्ति र प्रक्रिया अघि बढाइएको छ ।’
इलाका प्रहरी कार्यालय भण्डारामा प्रहरी निरीक्षकको कमान्डमा ३१ जना, अस्थायी प्रहरी पोस्टमा ७ जना र अस्थायी प्रहरी बिट अमृतपानीमा ३ जना प्रहरी खटिएका छन् । प्रहरी निरीक्षक गुरूङका अनुसार नगरका चारवटा वडा विकट ठाउँमा पर्ने भएकाले ती वडाहरुलाई मध्यनजर गर्दै त्यस क्षेत्रमा एउटा प्रहरी चौकी वा बिट स्थापना गर्न आवश्यक छ ।