चितवन, २९ वैशाख
नेपाल रेडक्रेस सोसाईटी चितवनले निर्वाचनको दिन जिल्लाका सात वटै निर्वाचन अधिकृतको कार्यालयमा एम्बुलेन्स तयारी अवस्थामा राख्ने भएको छ । मतदान गर्न जाँदा बिरामी हुने सक्ने र कतै झडपको स्थिति समेतलाई मध्यनजर गर्दै एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको हो ।
प्रादेशिक रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार भरतपुरको मुख्य निर्वाचन अधिकृतको कार्यालयमा दुई वटा र जिल्लाका अन्य ६ निर्वाचन अधिकृतको कार्यालयमा एक एक वटा एम्बुलेन्स तयारी अवस्थामा राखिने छ । रेडक्रसका विभिन्न उपशाखाहरुमा पनि एम्बुलेन्स तयारी अवस्थामा रहने पौडेलले जानकारी दिनुभयो । निर्वाचनको समयमा घटनाको पहिलो जानकारी निर्वाचन कार्यालयमा आउने भएकोले सोही ठाउँमा एम्बुलेन्स तयारी अवस्थामा राख्न लागिएको पौडेलले बताउनुभयो ।
निर्वाचनको दिन लाईनमा बस्दा, हिडेर जाँदा बृद्ध, अशक्ति लगायतकाहरु बेहोस् हुन सक्ने, कतै झडपको स्थिति समेत आउन सक्ने भएकाले एम्बुलेन्स तयारी अवस्थामा राखिएको उहाँको भनाई छ । यसै गरी घुम्ती फस्टएड (प्राथमिक उपचार) टोली पनि परिचालन गरिएको छ ।
मतगणनाको समयमा पनि मतगणना स्थलहरुमा एम्बुलेन्स तयारी अवस्थामा रहने पौडेलले कान्तिपुर हेल्थलाई जानकारी दिनुभयो । एम्बुलेन्स सेवा आवश्यक परेमा नेपाल रेडक्रस सोसाइटीको फोन नं। ०५६५९६१३३ मा समेत सम्पर्क गर्न सकिने व्यवस्था गरिएको छ ।