चैत २ काठमाडौं । पोल्याण्ड, स्लोभेनिया र चेक गणतन्त्रका प्रधानमन्त्रीहरूले मंगलबार कीभको भ्रमण गरे जहाँ उनीहरूले युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीलाई भेटेका छन् ।
किभमा जारी कर्फ्युकै बीच पुगेका छिमेकी देशका प्रधानमन्त्रीहरुले आफ्नो साथ र समर्थन युक्रेनमा रहेको बताएका छन् । युरोपियन युनियनले प्रधानमन्त्रीहरुको यात्राका लागि गम्भीर सुरक्षा चुनौती रहेको चेतावनी दिएको थियो । तर उनीहरु जेलेन्स्कीलाई भेट्न युक्रेन पुगेका हुन् । विमानमा यात्रा गर्दा रुसको तर्फबाट जोखिम हुने भएकाले तीन देशका प्रधानमन्त्रीले जोखिम उठाएर रेल यात्रा गरेर किएभ पुगेका बीबीसीले जनाएको छ । युक्रेनले उनीहरुको साहसका लागि धन्यवाद दिएको छ । रुसले युक्रेनमाथि २१ दिनदेखि लगातार आक्रमण गरिरहेको छ ।
स्लोभेनियाका प्रधानमन्त्री जेनेज जान्साले युक्रेनका जनतालाई भने तपाईंहरू एक्लै हुनुहुन्न। तपाईंको लडाइ हाम्रो लडाइ हो र हामी मिलेर जित्नेछौं।
चेक प्रधानमन्त्री पेत्र फियालाले भने, तपाईं आफ्नो जीवन, आफ्नो स्वतन्त्रताको लागि लडिरहनु भएको छ । तर हामीलाई थाहा छ कि तपाईं हाम्रो जीवन र हाम्रो स्वतन्त्रताको लागि पनि लड्दै हुनुहुन्छ । उनले थपे, हामी तपाईंको साहसको प्रशंसा गर्छौं र हामी थप सहायता र समर्थन प्रदान गर्न जारी राख्नेछौं । युक्रेनका जनताको साथमा युरोप उभिएको छ ।