छ वटा स्थानीय तहलाई संघीय सरकारले सम्मान गर्ने

काठमाडौं । संघीय सरकारले आर्थिक वर्ष २०८०/८१ मा उत्कृष्ट नतिजा ल्याएका छ वटा स्थानीय तहलाई सम्मान गर्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले भदौ ६ गते आयोजित विशेष कार्यक्रममा ती स्थानीय तहलाई सम्मान गर्ने तयारी गरेको हो ।

मन्त्रालयका अनुसार स्थानीय तह संस्थागत क्षमता स्वमूल्यांकन (लिसा) कार्यक्रम अन्तर्गत गाउँपालिका/नगरपालिकाको कार्यप्रक्रिया र उपलब्धीको लेखाजोखा गरी शासकीय प्रक्रिया, विकास व्यवस्थापनमा सुधारका क्षेत्र पहिचान गर्ने तथा स्थानीय सरकारबीच स्वस्थ प्रतिस्पर्धा प्रवर्द्धन गर्ने उद्देश्यले गुणस्तर परीक्षण गरिएको थियो ।

गुणस्तर परीक्षणपछि कायम भएको स्वमूल्यांकनको अन्तिम नतिजा सार्वजनिक गरिँदा उच्चतम अंक प्राप्त गर्ने स्थानीय तहलाई सम्मान गर्ने निर्णय भएको हो ।

यसअन्तर्गत चितवनको खैरहनी नगरपालिका, रुपन्देहीको तिलोत्तमा नगरपालिका, धादिङको नीलकण्ठ नगरपालिका, स्याङजाको अर्जुनचौपारी गाउँपालिका, धादिङकै बेनीघाट रोराङ गाउँपालिका र गुल्मीको रुरुक्षेत्र गाउँपालिका सम्मानित हुने भएका छन् ।

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री भगवती न्यौपानेको प्रमुख आतिथ्यतामा आयोजना हुने कार्यक्रममा सम्मानसँगै स्थानीय शासन कार्यसम्पादन मूल्याङ्कन प्रणाली को औपचारिक शुभारम्भ समेत हुने मन्त्रालयले जनाएको छ । –00–

Share:

सम्बन्धित समाचारहरु