आज सेतो मच्छिन्द्रनाथको रथलाई असनबाट तानेर वसन्तपुर पुर्याइँदै

चैत २७ काठमाडौं । वर्षा र सहकालका देवता सेतो मच्छिन्द्रनाथको रथयात्रामा सयौँको सहभागिता जुटेको छ । सेतो मच्छिन्द्रनाथको रथयात्रा हरेक वर्ष चैत्र शुक्ल अष्टमीदेखि दरबारमार्गको तीनधारा पाठशालाबाट सुरु हुन्छ ।

रथयात्रा अगाडि काठमाण्डौ इन्द्रचोकमा रहेको केलटोलको मन्दिरबाट देवताको मूर्ति खटमा राखेर हिजो दरबारमार्गमा पुर्याइएको थियो । यसरी लगिएको मूर्तिलाई खटमा राखेर रथयात्रा सुरु हुँदै आएको छ ।

रथलाई सहरको भित्री भागमा तीन दिनसम्म घुमाउने गरिन्छ । सेतो मच्छिन्द्रनाथको रथलाई असन, वसन्तपुर, जैसीदेवल, लगन हुँदै पुनः मच्छिन्द्रबहाल लगेर अन्त्य गर्ने चलन छ । यो यात्रा भएपछि वर्षा र सह हुने धार्मिक विश्वास रहेको छ ।

सेतो मच्छिन्द्रनाथ रथ व्यवस्थापन समितिले पहिलो दिन हिजो रथ असन पुर्याइएको जनाएको छ । रथ असन पुगेपछि अहिले पूजा, आराधना गर्ने भक्तजनको भिड लागेको छ । आज दोस्रो दिन रथलाई असनबाट तानेर वसन्तपुरमा रहेको कालभैरवअघि लगिन्छ ।

तेस्रो दिन भोलि वसन्तपुरबाट लगन लगेर जात्रा गर्ने परम्परा छ । लगनमा सेतो मच्छिन्द्रनाथको आमाको मन्दिरमा रथ तीनपटक घुमाउने गरिन्छ । काठमाण्डौमा सेतो मच्छिन्द्रनाथको रथयात्रा सकेपछि रातो मच्छिन्द्रनाथको रथयात्रा हुन्छ । यो रथलाई नागराजको प्रतीक मानिन्छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु