काठमाडौं, वैशाख २
माओवादी केन्द्रका नेता वर्षमान पुनकी आमा तीर्थमालीलाई नियतवश गोली नचलाएको प्रहरी हवल्दार प्रकाश पुन मगरले बयान दिएका छन् । प्रहरी प्रधान कार्यालय, नक्सालमा सोधपुछ गर्ने क्रममा उनले गल्तीले गोली चलेको बताएको नेपाल प्रहरीका एक उच्च अधिकृतले बताए । ‘दुर्घटनावश गोली चलेको हो’, उनले भनाइ उदृत गर्दै ती प्रहरी अधिकृतले भने ।
शुक्रबार नयाँ वर्षको अवसरमा बालुवाटारस्थित तीर्थमाली बस्ने घरमा पारिवारिक जमघट थियो । त्यसक्रममा राति साढे ९ बजे घरमा गोली चलेको थियो । कामु प्रधानन्यायाधीशको निजी सुरक्षा टोलीका सदस्य प्रहरी हवल्दार प्रकाश पुन मगरले गोली चलाएका थिए ।
प्रहरीका अनुसार मादक पदार्थ सेवन गरेका उनको पेस्तोलबाट एक्कासी गोली तीर्थमालीको खुट्टामा लागेको थियो । उनको ट्रमा सेन्टरमा उपचार भइरहेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) श्यामलाल ज्ञवालीले बताए ।
घटनाबारे प्रहरीलाई मध्यराति १ बजे मात्रै खबर आएको थियो । त्यतिञ्जेल प्रकाश त्यहाँबाट भागिसकेका थिए । बिहान उनको कोठाबाट नियन्त्रणमा लिइएको एआईजी ज्ञवाली बताउँछन् ।


