चैत्र २४ सर्लाही । सर्लाहीमा ५ दिनदेखि हराइरहेका बालकको शव सेप्टिट्यांकीभित्र फेला परेको छ।
मलंगवा–१२ स्थित गम्हरियाबाट हराएका जितेन्द्र ठाकुरका अन्दाजी १० वर्षका छोरा आकाश ठाकुर भनिने मिठुको शव बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको सेप्टिट्यांकीमा भेटिएको हो।उनी पछिल्लो ५ दिनयता हराइरहेका जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता डीएसपी माधवप्रसाद बुढाथोकीले बताए।उनका अनुसार बिहीबार बिहान छिमेकी जगदीश ठाकुरको घरमै टाँसिएर रहेको शौचालयको सेप्टिट्यांकीभित्र बालकको शव भेटिएको हो।बालकको हत्या गरी शव बोराभित्र हालेर सेप्टिट्यांकीमा फालिएको भन्ने जानकारीका आधारमा प्रहरीले खोजतलास गर्ने क्रममा बिहीबार बिहान शव फेला परेको हो।
चैत २० गते (आइतबार)गाउँमा न्वारानको भोज खान गएका मिठु घर नफर्किएपछि परिवारले प्रहरीलाई खबर गरेको थियो। अनुसन्धानका क्रममा प्रहरीले शंकाका आधारमा छिमेकी जगदीशसँगै अन्य ७ जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको छ।
अनुसन्धानका क्रममा बयान दिँदै जगदीशले बालकको हत्या गरी सेप्टिट्यांकीभित्र फालेको बताएपछि प्रहरीले शव निकालेको हो।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।