चैत ७ मोरङ ।स्थानीय बासिन्दा र प्रहरीबीचको झडपमा एक महिला प्रहरी जवानको ज्यान गएपछि मोरङको लेटाङमा आज बिहानैदेखि कर्फ्यु लगाइएको छ।
प्रमुख जिल्ला अधिकारी काशिराज दाहालले सूचना जारी गर्दै आज बिहान ७ बजेदेखि अर्को आदेश नभएसम्मको लागि कर्फ्यु लगाएका हुन् ।दक्षिणमा लेटाङ नगरपालिका वडा नं. ३ र ४ को गंगेचोक र कमलपुर क्षेत्र, लेटाङ नगरपालिका वडा नम्बर ५ को सबै क्षेत्र, उत्तरमा लेटाङ नगरपालिका वडा नं. ६ को वडा कार्यालय क्षेत्र, पूर्वमा मोरङे खोला क्षेत्र र पश्चिममा चिसाङ खोला क्षेत्रमा कर्फ्यु लगाइएको प्रजिअ दाहालले जानकारी दिए ।
होली खेल्ने क्रममा घर पुगेका शिक्षकले आफूलाई यौन दुर्व्यवहार गरेको १२ वर्षीया छात्राले बताएपछि विद्यालयमा यसबारे छलफल भइरहँदा झडप भएको हो । छात्रालाई निरन्तर दुर्व्यवहार गर्ने शिक्षकलाई प्रहरीले बिना कारबाही बचाउन लागेको भन्दै शिक्षा विकास माविका विद्यार्थी र स्थानीय बासिन्दा आक्रोशित भएका थिए । उनीहरुले आरोपित शिक्षक आफूहरुलाई जिम्मा लगाउन माग गरेका तर प्रहरीले स्थानीयलाई शिक्षक बुझाउन नमिल्ने बताएपछि झडप भएको प्रमुख जिल्ला अधिकारी दाहालले बताउनुभयो ।
आक्रोशित भिडलाई नियन्त्रणमा लिन प्रहरीले केही सेल अश्रु ग्यास र हवाई फायर गरेको थियो ।