सञ्चालनमा नरहेका सात वायुसेवा कम्पनीको ९ करोड १६ लाख बक्यौता नतिरे कालोसूचीमा राख्ने चेतावनी

चैत ६ काठमाडौं । सञ्चालनमा नरहेका ७ वायुसेवा कम्पनीले सरकारलाई वर्षौंदेखिको ९ करोड १६ लाख बक्यौता नतिरेको पाइएको छ।

रकम बुझाउन पटक-पटक पत्राचार गरी तीन पटक सार्वजनिक सूचनासमेत जारी गर्दा पनि अटेरी गरिएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले पुनः सार्वजनिक सूचना जारी गरेर ७ दिनभित्र रकम तिर्न भनेको छ।बक्यौता नागरिक उड्डयन प्राधिकरण ऐन, २०६७ अनुसार असुल गरी ती कम्पनी र व्यक्तिलाई हवाईसेवा, विमानस्थल तथा प्राधिकरणसँग सम्वद्ध कुनै काम तथा व्यापार गर्न नपाउने गरी कालोसूचीमा राख्ने चेतावनी पनि दिइएको छ।बक्यौता नतिर्नेमा दीपमणि राजभण्डारी अध्यक्ष रहेको नेकोन एयर, मणिन्द्रलाल रञ्जितकारको शिवानी एयर, प्रज्वल श्रेष्ठसहितको गोरखा एयर, प्रज्ञानशमशेर जबरासहितको माउन्टेन एयर, रवीन्द्रप्रसाद प्रधानसहितको कस्मिक एयर, आङछिरिङ शेर्पासहितको स्काइलाइन एयरवेज र प्रज्वल श्रेष्ठसहितको एयर काष्ठमण्डप वायुसेवा कम्पनी रहेका छन्।

प्राधिकरणका अनुसार नेकोनले ४ करोड ७२ लाख २५ हजार, शिवानीले ५५ लाख ५१ हजार, गोरखाले २० लाख ३५ हजार, माउन्टेन एयरले ६ लाख १० हजार, कस्मिकले ३ करोड ४७ लाख, स्काइलाइनले ७ लाख ८० हजार र काष्ठमण्डपले ७ लाख ३८ हजार तिर्न बाँकी छ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु