चैत ४ गोरखा । गोरखामा जुवा खेल्ने १९ जना पक्राउ परेका छन् । बारपाक सुलिकोट गाउँपालिका ३ सौरपानीमा तास खेलिरहेको अवस्थामा १९ जनलाई गोरखा प्रहरीले नियन्त्रणमा लिएको हो ।
स्थानीय सीता कुमारी आले मगरको घरको आँगनमा जुवा खेलिरहेका उनीहरुलाई बिहीवार राति १ बजे पक्राउ गरिएको प्रहरीले जनाएको छ ।पक्राउ पर्नेमा भीमसेन थापा गाउँपालिका–५ का बुद्धि प्रसाद पोखरेल, राम प्रसाद पौडेल, होम बहादुर सार्की, कमल बहादुर सुर्खेती, रन्जन पोखरेल, सन्तमान गुरुङ, कृष्ण श्रेष्ठ, प्रेम कुमार श्रेष्ठ र वडा नम्वर ७ का राम बहादुर बराम रहेका छन् ।
उनका अनुसार सिरानचोक गाउँपालिका–९ का मंगल बिक, धार्चे गाउँपालिका–४ का तिजमान गुरुङ, अजिरकोट गाउँपालिका वडा नम्वर ३ का बिष्णु अधिकारी, वडा नम्वर ४ का रत्नमान गुरुङ र वडा नम्वर ९ का सुक बहादुर घले पनि पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिहरु १९ देखि ७५ वर्ष उमेरसम्मका छन् ।
जुवा खेलिरहेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय जौवारीबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।
उनीहरुको साथबाट १६ थान कौडा र ३ लाख ९० हजार रकम समेत बरामद भएको छ । सट्टाबाजी गर्न नहुने कसुर अन्तरगत शुक्रबार मुद्दा दर्ता गरेर आवश्यक कारवाही प्रक्रिया अघि बढाइने प्रहरीले जनाएको छ ।
त्यस्तै बारपाक सुलिकोट गाउँपालिका वडा नम्वर २ का फेन बहादुर घले, वडा नम्वर ३ का धन बहादुर तामाङ, बिशाल आले, वडा नम्वर ४ का बिर बहादुर गुरुङ र लाल बहादुर गुरुङ पनि पक्राउ परेको प्रहरी निरिक्षक धर्म अधिकारीले बताए ।