चैत ३ काठमाण्डौ । अभिनेता रणवीर कपुर र अभिनेत्री श्रद्धा कपुरको प्रमुख भूमिका रहने एक बेनामे फिल्म विवादमा तानिएको छ। निर्देशक लव रञ्जनले निर्देशन गर्ने यो फिल्मको सुटिङ सेटमा केही व्यक्तिले तोडफोड गरेका छन्।
रञ्जनको फिल्ममा काम गरिसकेका केही कामदारले पूर्ण पारिश्रमिक नपाएको भन्दै तोडफोड गरेका हुन्। निर्देशक रञ्जनको गत वर्ष अक्टोबरमा ‘चारकोप’, ‘कान्दीवली’मा एक गीतमा काम गरे पनि त्यो पैसा अहिलेसम्म नपाएको कामदारले जनाएका छन्।निर्देशक रञ्जनले करिब ३५० व्यक्तिलाई पारिश्रमिक दिएका छैनन् र यसको कुल मूल्य १ दशमलब २ करोड रुपैयाँ पर्दछ। प्रहरीले कामदारले सुटिङ सेटमा तोडफोड गरेको सूचना पाएपछि उनीहरुलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि वर्कस युनियनले चौकीमा पुगेर सबै कामदारलाई बाहिर ल्याएको थियो। निर्देशक रञ्जनले भने अहिलेसम्म यो मामलामा केही बोलेका छैनन्।रणवीर र श्रद्धाको अभिनय रहने फिल्म रोमान्टिक ड्रामामा आधारित छ। यो फिल्म आगामी वर्षको मार्च ८ मा रिलिज हुँदैछ। फिल्ममा डिम्पल कपाडिया र बोनी कपुर पनि प्रमुख भूमिकामा छन्। फिल्मको अन्तिम सुटिङका लागि लव टिमका साथ यसै वर्षको मध्यमा स्पेन जानेछन्।
निर्देशक लव रञ्जनले निर्देशन गरेका ‘सोनू के टीटू की स्वीटी’ र ‘प्यारका पञ्चनामा’ हिट फिल्ममा पर्दछन्।