कारी महतो
चितवन, १३ जेठ । चितवन जिल्लाका थारु समुदायमा शिक्षाको लहर आएपछि अर्धशिक्षित जमातले परम्परागत ज्ञान तथा सीपलाई अन्धविश्वासको रुपमा लिन थाले । अधिकांश शिक्षित समूहले थारु गुरौको विधि र पद्धतिलाई हेयको भावले हेर्न थाले । जसले गर्दा यो लोपोन्मुख हुन थाल्यो ।
तर अहिलेका युवापिढींले थारु गुरौको परम्परागत ज्ञानसीपलाई विज्ञानको रुपमा ग्रहण गर्न थालेका छन् । पुर्खाले लामो समयसम्म अवलोकन, अध्ययन तथा परीक्षण गरी सिद्ध गरेका ज्ञानसीपलाई पुनःपरीक्षण गर्दैगर्दा निकै हदसम्म प्रमाणित भएको प्रत्यक्ष अनुभव बटुलेर केहि व्यक्तिले आफूलाई यो पद्धतिको सिकाई र प्रयोगमा समर्पित गरेका छन् । यसरी समर्पित हुनेहरु मध्ये एक जना होनहार शिक्षित व्यक्ति हुन् शनिचर पाबे । धनौजीमा जेठ १० देखि १४ सम्म आयोजित थारु गुरौको विधि तथा जडीबुटी सम्बन्धी प्रशिक्षण कार्यक्रममा उहाँले आफूले सिकेका मोहनी मन्त्रको प्रयोग गरी दुईवटा बाँसका लट्ठीलाई जोडेर देखाउँदा सबै चकित परेका थिए ।
भरतपुर महानगरपालिका वडा नं. १४ पकडी निवासी शनिचरा पाबेले आफूले स्कुल क्याम्पसमा पढ्नेबेलामा थारु गुरौको क्रियाकलापलाई अन्धविश्वासको रुपमा लिनुभएको थियो । उहाँले २०४७ सालमा पटिहानीको अमर माध्यमिक विद्यालयमा एसएलसी पास गरेर विरेन्द्र बहुमुखी क्याम्पसमा उच्च शिक्षा हासिल गर्नुृृभयो । अंग्रेजी मूलविषय लिई एमए पास गरी सप्तगण्डकी बहुमुखी क्याम्पसबाट बिएड समेत पास गर्नुभयो । त्यसपछि उहाँले विभिन्न बोर्डिङ्ख स्कुलमा अध्यापन गराउनुभयो । स्थायी शिक्षकका लागि शिक्षक सेवा आयोगको परीक्षा पास पनि गर्नुभयो । तर पहाडी भूभागको स्कुलमा परेपछि उहाँ स्थायी नियुक्ति पत्र नलिई आफैंले बोर्डिङ्ख स्कुल खोली केहि समय सञ्चालन समेत गर्नुभयो । अहिले उहाँ गीतानगरको अर्कै एक बोडिङ्ख स्कुलमा अध्ययापनरत हुनुहुन्छ ।
शनिचर पाबेले पनि गुरौहरुको क्रियाकलापलाई अन्धविश्वासको रुपमा लिनुहन्थ्यो । एकदिन एक गुरौबाट एउटा मन्त्र सिकेर आफ्नै बारीको कटहरको रुखमा प्रयोग गर्नुभयो । केहि दिनमै रुख विस्तारै सुक्यो । अर्को मन्त्र प्रयोग गर्दा केहि दिनपछि त्यो रुख पुनः हरियो हुँदै आएको देख्नुभयो । यो देखेर गुरौ पद्धतिप्रति प्रभावित भई तन्त्रमन्त्र सिक्न थालेको उहाँ बताउनुहुन्छ । यसरी गुरौको तन्त्रमन्त्रमा शक्ति छ कि छैन भनेर खोजी गर्दगर्दा यसमा अदृश्य शक्ति रहेको पाएपछि तन्त्रमन्त्र सिक्न थालेको उहाँ बताउनुहुन्छ ।
५२ वर्षीय शनिचरा पाबे गुरौको मन्त्र सिक्न थालेको आठ- नौ वर्ष मात्र भएको छ । तथापि यो बिचमा उहाँले थारु गुरौ, मधेशी गुरौ, भारतीय तान्त्रिक, पहाडी धामीझाँक्रीबाट धेरै मन्त्र सिक्नुभएको बताउनुहुन्छ । शुरुमा ढाल्ने, मार्ने तथा कसैलाई दुःख दिएर बदला लिने जस्ता नकारात्मक अभिप्रायले सिकेका मन्त्रहरुको प्रयोग उहाँले अहिले सकारात्मक प्रयोजनमा लगाएका बताउँनुहुन्छ । मन्त्र सिक्ने क्रममा मोहनीमन्त्रको परीक्षणका लागि एक महिलामा एकमहिनासम्म प्रयोग गर्दा झन्डै आफैं फसेको उहाँले अनुभव सुनाउनुहुन्छ ।
मन्त्र परीक्षण बाहेक अरु कुनै अनुचित फाइदा लिने उद्देश्य नभएकोले त्यस महिलाबाट बच्न घर छोडेर भाग्नु परेको घटनाका स्मरण गर्नुहुन्छ । तर केहि समयपछि आफ्नो गुरुहरुको सहयोगबाट उक्त मोहनी फुकाउन सफल भएको बताउनुभयो । चेलाहरुलाई परम्परागत शैलीमा सिकाउने विधिका कारणले थारु गुरौको पद्धति लोप हुन लागेको देखेर उहाँले थारु मन्त्र तथा ज्ञानगुनलाई आधुनिक तरिकाले सिक्ने, सिकाउने तथा प्रयोग गर्नुपर्ने बताउँनुहुन्छ । धेरैजसोले थारु गुरौको मन्त्रप्रति विश्वास नगर्ने भएकोले उनीहरुलाई विश्वास दिलाउन उहाँले प्रशिक्षण कार्यक्रको उदघाटन सत्रमै लट्ठी जोड्ने नमूना प्रस्तुत गरेको बताउनुभयो ।
थारु गुरौहरुले मन्त्र नसिकाउने भएकोले यो पद्धति लोप हुन थालेको जनगुनासो आएपछि उहाँले प्रशिक्षणको क्रममा केहि मन्त्र अक्षरशः लेख्नै लगाएर सिकाउनुभयो । उहाँको विचारमा मन्त्र सिक्नु ख्यालख्याल र लहडको कुरा होइन । त्यसका लागि तीब्र इच्छा र निरन्तर साधनामा पूर्ण रुपमा समर्पित हुन जरुरी रहेको बताउनु भयो । गुरौहरुले जोपाए त्यहिलाई नसिकाउनुको कारण पनि यहि हो । उहाँले आफूले मन्त्र सिक्ने अठोट लिएपछि निकै मिहिनेत गरेको र कतिपय मन्त्र सिक्न आफूले धेरै नगद खर्च समेत गरेको बताउँनुहुन्छ ।
केहि गुरौहरुलाई नगद समेत दिएर मन्त्र सिकेको बताउनुभयो । आफूले सिकेको सबै मन्त्रहरु परिक्षण नगरेको बताउनुहुन्छ । गुरौहरुले तन्त्र, मन्त्र र यन्त्रको प्रयोग गर्ने गरेको अनुभव सुनाउँदै “मन्त्र धेरै हुन्छन् तर कुनै कुनै मन्त्र अल इन वन पनि हुन्छ” उहाँ भन्नुहुन्छ ।





