रुसी टेलिभिजनसमाचार प्रशारणकै बीचमा युद्धविरोधी प्लेकार्ड, भिडिओ भाइरल

चैत १ एजेन्सी । बेलायती पत्रिका द गार्डियनका अनुसार रूसी सरकारी स्वामित्वको टेलिभिजन च्यानल वानमा समाचार प्रसारण भइरहेका बेला एक जना महिलाले स्टुडियोभित्र छिरेर युद्धविरोध प्लेकार्ड देखाएकी छन्।

च्यानल वानकी सम्पादक रहेकी मरिना ओभ्स्याननिकोभाले लाखौं रूसी नागरिकले हेर्ने उक्त समाचारका क्रममा युद्ध रोक। युद्ध चाहिँदैन। यी प्रोपोगान्डामा विश्वास नगर्नुस्, यिनीहरूले झुट बोलिरहेका छन्। रूसी जनता युद्धको विपक्षमा छन्। लेखिएको प्लेकार्ड देखाएकी थिइन्। मरिना स्टुडियोभित्र पसेर प्लेकार्ड देखाएपछि समाचार वाचिकाले चर्को स्वरमा समाचार पढेकी थिइन्।

केही सेकेन्डसम्म मरिनाले प्लेकार्ड देखाएपछि टेलिभिजनमा अर्को रेकर्डेड सामग्री बजाइएको थियो। सोमबार राति भएको एउटा विरोधको घटनाले भने अहिले संसारभरि चर्चा पाइरहेको छ।

समाचारको बीचमा स्टुडियोभित्र छिरेकी मरिनालाई पक्राउ गरिएको छ। रूसी राष्ट्रपति पुटिनले केही दिनअघि मात्रै युक्रेनमाथि भएको आक्रमणलाई युद्ध भन्न नपाइने कानुन ल्याएका थिए।उक्त कानुनले यो आक्रमणलाई सञ्चारमाध्यमहरूले युद्ध भनेका खण्डमा १५ वर्षसम्म जेल हुन सक्ने व्यवस्था गरेको छ। गत फागुन १२ गते युक्रेनमाथि आक्रमण गरेपछि पुटिनले केही स्वतन्त्र सञ्चारमाध्यमहरूलाई बन्द गरिदिएका छन्। रूसी सरकारी सञ्चारमाध्यममा युक्रेन आक्रमणका तस्बिरहरू देखाइँदैन।

ओभ्सानिकोभाले एक भिडियो सन्देश पनि जारी गरेकी छिन्। उनले च्यानल वानमा काम गर्दा आफूलाई लज्जाबोध भएको र यो टेलिभिजनले ‘रुसी प्रोपोगाण्डा’ फैलाइरहेको उल्लेख गरेकी छिन्।

उनले आफूहरु निरन्तर अमानवीय शासनविरुद्ध बोल्न चुकिरहेको बताएकी छिन्। उनले भनेक छिन्, ‘अहिले जसरी समग्र विश्व हामीबाट टाढा भएको छ, त्यसले आगामी १० पुस्तालाई पनि यो भाइभाइबीचको युद्धको लज्जाबोध हुनेछ।’

उनले थपेकी छिन्, ‘अहिले युक्रेनमा जे भइरहेको छ, त्यो अपराध हो र रुसले आक्रमण गरेको छ, यो आक्रमणको जिम्मेवारी केवल एक व्यक्तिको काँधमा छ र त्यो व्यक्ति हुन्–भ्लादिमिर पुटिन।’

आभ्सानिकोभाले गरेको विरोधको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले पनि प्रशंसा गरेका छन्।

Share:

Facebook
Twitter
Email
WhatsApp
Pinterest

सम्बन्धित समाचारहरु