फागुन १७ काठमाडौँ । नेपाल आयल निगमले पुनः पेट्रोलियम पदार्थको मूल्य बढ्ने संकेत गरेको छ।
इन्डियन आयल कर्पोरेशन (आईओसी)बाट फेरी पेट्रोलियम पदार्थको मूल्य बढेर आएको छ । नेपाल आयल निगमले दिएको जानकारीअनुसार भारतबाट आज प्राप्त नयाँ मूल्य सूचीअनुसार सबै पेट्रोलियम पदार्थको मूल्य वृद्धि भएको छ । यसअनुसार आगामी १५ दिनमा निगमलाई करिब ३ अर्ब ९ करोड घाटा हुने निगमको भनाइ छ।
भारतबाट प्राप्त नयाँ मूल्य सूचीअनुसार पेट्रोल प्रतिलिटर ३.८९ रुपैयाँ, डिजेल ३.०८ रुपैयाँ र मट्टितेल प्रतिलिटर १०.३० रुपैयाँ बढेर आएको छ । यस्तै, हवाई इन्धन प्रतिलिटर ३.३२ रुपैयाँ र एलपीजी ग्याँस प्रतिलिसिन्डर १०० रुपैयाँ बढेको निगमका प्रवक्ता बिनितमणि उपाध्यायले जानकारी दिए ।
निगमले पछिल्लोपटक यही फागुन ७ मा मूल्य समायोजन गरेको थियो। त्यसपछि अहिले रुस–युक्रेन संकटले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य वृद्धि भई ९५ देखि १०५ अमेरिकी डलर प्रतिब्यारेल पुगिसकेको छ।
सोही कारण इन्डियन आयल कर्पोरेसनबाट फेब्रुअरी १६ (फागुन ४) मा प्राप्त मूल्यभन्दा मंगलबार (आज) भारतबाट आएको नयाँ मूल्य बढेर आएको छ।