काठमाडौं । मकवानपुरको भीमफेदी गाउँपालिका–१ भैंसे नजिकै त्रिभुवन राजपथमा भएको जिप दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ । मृत्यु हुनेमध्ये दुई जनाको पहिचान खुलेको छ भने एक महिलाको सनाखत हुन बाँकी छ ।
सशस्त्र प्रहरीका डीएसपी शैलेन्द्र थापाका अनुसार मृत्यु हुनेमा रौतहटको चन्द्रपुर नगरपालिका–४ का ५० वर्षीय बमबहादुर वाइबा र २२ वर्षीया जेशिका तिमल्सिना रहेका छन् । चन्द्रनिगाहपुरबाट जिपमा सवार भएकी अर्की मृतक महिलाको भने पहिचान खुल्न सकेको छैन ।
दुर्घटनामा सात जना घाइते भएका छन् । घाइते हुनेमा चन्द्रपुर नगरपालिका–३ की १६ वर्षीया निमा थिङ, ५८ वर्षीय कान्छा ध्वज, १५ वर्षीया सुमिना थिङ, चन्द्रपुर–४ का ३३ वर्षीय कालुमान लोप्चन, चन्द्रपुर–३ की १६ वर्षीया शिखा लामा, ५५ वर्षीया हरिमाया थिङ र चन्द्रपुर–४ का १९ वर्षीय बय हाङ रानामगर रहेका छन् ।
प्रहरीका अनुसार आज बिहान करिब ८ः५५ बजे हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको ना.१ ज २१४३ नम्बरको सुमो सडकबाट करिब २० देखि २५ मिटर तल खोलामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनालगत्तै स्थानीय बासिन्दा र प्रहरी चौकी भैंसेको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि हेटौँडा अस्पताल पठाएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


