काठमाडौं, २ वैशाख । तीनकुनेमा चैत १५ गते प्रहरीमाथि गाडी चलाउन खोजेको घटनामा अभियुक्त दुर्गा प्रसाईंमाथि अब ज्यान मार्ने उद्योगसमेतको अभियोगमा अनुसन्धान अघि बढाइएको छ।
जिल्ला प्रहरी परिसर, काठमाडौं स्रोतका अनुसार घटनाका प्रत्यक्षदर्शी प्रहरी अधिकारीहरूले दिएको जाहेरीका आधारमा प्रसाईंमाथि राज्यविरुद्धको कसुर, आपराधिक उपद्रव, संगठित अपराधसँगै ज्यान मार्ने उद्योगको कसुर पनि थपिएको छ।
सो घटनामा प्रसाईंले आफैंले गाडी हुइँक्याएर आन्दोलनस्थलमा खटिएका सुरक्षाकर्मीमाथि चलाउन खोजेका थिए। प्रहरीले उनलाई रोकेर नियन्त्रणमा लिन खोजे पनि उनी घेरा तोडेर भागेका थिए। घटनापछि केही समय भारतको असमस्थित बक्सा जिल्लामा लुकेर बसेका प्रसाईंलाई प्रहरीले त्यहींबाट पक्राउ गरी हाल काठमाडौं ल्याएको हो।
यद्यपि पक्राउ परेपछि पनि प्रहरीले उनको औपचारिक बयान भने लिइसकेको छैन। अनुसन्धानको थप प्रक्रियाअन्तर्गत म्याद थप गरी बयान लिने तयारी भइरहेको स्रोतको भनाइ छ।–00–

