छठ मनाउन रवि लामिछाने आज जनकपुर आउँदै, गंगासागरमा पूजामा सहभागी हुने

जनकपुरधाम । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने छठ पर्व मनाउन आज जनकपुरधाम आउँदै छन् । उनी श्रीमती निकिता पौडेलसँगै जनकपुरको गंगासागरमा छठ पर्व मनाउने कार्यक्रम रहेको छ ।

लामिछानेले जनकपुरधाममा पार्टीका नेता तथा कार्यकर्तासँग भेटघाट र छलफल गर्नुका साथै राजनीतिक तथा धार्मिक कार्यक्रममा सहभागी हुने कार्यतालिका रहेको छ ।

निर्धारित कार्यक्रमअनुसार लामिछाने आज दिउँसो १२ः१५ बजे जनकपुर विमानस्थलमा अवतरण गर्नेछन् । दिउँसो १ बजे उद्योग वाणिज्य संघको सभाहलमा आयोजित शुभकामना आदानप्रदान तथा सम्बोधन कार्यक्रममा सहभागी हुनेछन् ।

त्यसपछि दिउँसो २ बजेदेखि ४ बजेसम्म मधेश प्रदेश कमिटीका नेताहरूसँग छलफल गर्ने कार्यक्रम रहेको छ । साँझ उनी छठ पूजाको तयारीमा सहभागी हुनेछन् ।

लामिछानेले भोलि बिहान जानकी मन्दिर, धनुषाधाम मन्दिर, जलेश्वरनाथ मन्दिरलगायत मधेशका विभिन्न ऐतिहासिक तथा धार्मिक स्थलहरूको दर्शन तथा अवलोकन गर्ने कार्यक्रम छ । दिउँसो ३ बजे जनकपुरको गंगासागरमा आयोजित छठ पूजामा सहभागी हुनेछन् ।

सोमबार बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि लामिछाने काठमाडौं फर्किने कार्यक्रम रहेको जनाइएको छ ।

Share:

सम्बन्धित समाचारहरु