काठमाडौं । नेकपा एमालेले पार्टीभित्र नीति तथा नेतृत्वको सुरक्षा सुनिश्चित गर्न ‘नेसनल भोलेन्टियर फोर्स’ (एनभीएफ) गठन गर्ने भएको छ।
यसका लागि आज माइतीघर मण्डलाबाट बानेश्वर हुँदै बबरमहलस्थित कार्की व्यांक्वेटसम्म मार्चपास सहित विशेष घोषणा सभा आयोजना गरिनेछ। पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बिहान ११ बजे औपचारिक रूपमा फोर्सको घोषणा गर्ने कार्यक्रम तय गरिएको छ।
पार्टीका जनसंगठन संयन्त्र प्रमुख भानुभक्त ढकालका अनुसार समाजमा बढ्दो असुरक्षा, अशान्ति तथा भदौ २३–२४ का घटनाले आम नागरिकको मनोबल कमजोर पारेकाले जनमानसमा भरोसा फर्काउन एनभीएफ गठन गर्न लागिएको हो। ढकालले फोर्सले राज्यका सुरक्षा निकायलाई सहयोग गर्ने, जनतालाई भय र असुरक्षाबाट मुक्त गर्ने तथा प्राकृतिक प्रकोपका बेला उद्धार र राहत कार्यमा सक्रिय भूमिका निभाउने उद्देश्य रहेको बताए।
हाल सुरक्षा संवेदनशीलता बढिरहेको र अध्यक्ष ओलीलगायत नेताहरूका सुरक्षाकर्मी राज्यले फिर्ता लगेका कारण पनि यस्तो वैकल्पिक संरचना आवश्यक परेको एमालेको तर्क छ।
पार्टीले केन्द्रसँगै प्रदेश र जिल्ला तहमा पनि समान संरचना तयार गर्ने योजना बनाएको छ। एनभीएफमा एकजना कमाण्डर तथा दुईजना सहायक कमाण्डरको व्यवस्था रहने जनाइएको छ।–00–


