मध्यावधि चुनावकै बीच ट्रम्पको ठूलो कदम, इरानको टापुमा अमेरिकी मिसाइल वर्षा

काठमाडाैं । अमेरिकाले इरानमाथि पुनः ठूलो सैन्य आक्रमण गरेको छ । अमेरिकी सेनाले इरानको रणनीतिक महत्व बोकेको केश्म टापुलाई लक्षित गरी मिसाइल आक्रमण गरेको हाे । अमेरिकी मध्यावधि निर्वाचनको माहोलबीच राष्ट्रपति डोनाल्ड ट्रम्पले चालेको यो कदमले अमेरिका र इरानबीचको तनाव थप चर्किने संकेत देखिएको छ ।

केही दिनदेखि अमेरिकाले इरानमाथि सानातिना सैन्य कारबाही गरिरहेको चर्चा भइरहेका बेला पछिल्लो आक्रमणलाई ठूलो सैन्य कारबाहीका रूपमा हेरिएको छ । यसअघि ट्रम्पले इरानमाथि जुनसुकै बेला आक्रमण गर्न सक्ने संकेत दिएका थिए ।

द वाल स्ट्रिट जर्नलका अनुसार अमेरिकी सेनाकाे आक्रमणका क्रममा राडार प्रणाली र मिसाइल प्रक्षेपण केन्द्रलाई निशाना बनाइएको छ । इरानी सेनाका विभिन्न सैन्य संरचनामा समेत क्षति पुर्‍याइएको छ ।

यसअघि अमेरिकाले साना स्तरका आक्रमण गरेर इरानलाई प्रत्यक्ष र ठूलो जवाफी कारबाहीमा उत्रन नदिने रणनीति अपनाएको थियो ।

अमेरिकी आक्रमणलाई रक्षात्मक कारबाहीको संज्ञा

इरानमाथि गरिएको सैन्य कारबाहीबारे प्रतिक्रिया दिँदै एक अमेरिकी अधिकारीले यसलाई रक्षात्मक कदम भएको बताएका छन् । ती अधिकारीका अनुसार इरानले अमेरिकी सैन्य अखडालाई लक्षित गर्न जमिनबाट आकाशमा प्रहार गर्ने मिसाइल प्रयोग गरिरहेको थियो । त्यसको जवाफस्वरूप अमेरिकी सेनाले केश्म टापुमा कारबाही गरेको उनको भनाइ छ ।

अमेरिकाले आफ्नो सैन्य कारबाहीलाई आत्मरक्षाका रूपमा व्याख्या गरे पनि इरानको प्रतिक्रिया र त्यसपछि विकसित हुने परिस्थितिबारे चासो बढेको छ ।

अमेरिका र इरानबीच लामो समयसम्म चलेको युद्धपछि निकै कठिन प्रयासका साथ युद्धविराममा सहमति भएको थियो । यस वर्ष जुन महिनामा दुवै पक्षबीच युद्धविरामसम्बन्धी सहमति भएको बताइएको थियो ।

तर केश्म टापुमाथि भएको पछिल्लो अमेरिकी आक्रमणले उक्त युद्धविरामको भविष्य फेरि अन्योलमा परेको छ । दुई देशबीच युद्धविराम गराउन पाकिस्तानसहित विभिन्न मुलुकले मध्यस्थता गरेका थिए । यसका लागि पाकिस्तानमा पटक–पटक कूटनीतिक छलफलसमेत भएका थिए ।

तर पछिल्लो सैन्य घटनाक्रमले लामो प्रयासपछि बनेको युद्धविराम फेरि भंग हुने जोखिम बढाएको छ ।

के इजरायलको दबाबमा आक्रमण गरिएकाे हाे ?

इरानमाथि पुनः आक्रमण गर्ने विषयमा इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले अमेरिकी नेतृत्वसँग पटक–पटक छलफल गर्दै आएको विभिन्न सञ्चारमाध्यमका रिपोर्टमा उल्लेख छ । अमेरिकामा मध्यावधि निर्वाचन सकिएपछि इरानमाथि फेरि सैन्य कारबाही गर्नुपर्ने दबाब नेतन्याहुले दिइरहेको दाबीसमेत सार्वजनिक भएका थिए ।

आक्रमणअघि ट्रम्पले इरानका विषयमा सबै विकल्प खुला रहेको बताएका थिए । ती विकल्पमा सैन्य आक्रमणसमेत समावेश रहेको उनको संकेत थियो ।

अमेरिका र इरानबीच लामो समयदेखि जारी तनाव तत्काल समाधान हुने संकेत देखिएको छैन । पछिल्लो आक्रमणले मध्यपूर्वको सुरक्षा अवस्था, स्ट्रेट अफ होर्मुज हुँदै हुने अन्तर्राष्ट्रिय तेल आपूर्ति र विश्व अर्थतन्त्रमा समेत प्रभाव पार्न सक्ने चिन्ता बढाएको छ । –एजेन्सीबाट

Share:

सम्बन्धित समाचारहरु