चितवन, भदौ १४ । बाढीमा परेर नारायणी र त्रिशूली नदी तटीय क्षेत्रबाट संकलन गरिएका शव राख्न निर्माण गरिएको अस्थायी होल्डिङ सेन्टर आजदेखि खाली गरिने भएको छ।
पहिचान हुन नसकेका शवहरूको डीएनए नमुना संकलन गरिसकिएकाले कानुन तथा अन्तर्राष्ट्रिय मापदण्डअनुसार जमिनमुनि व्यवस्थापनको काम अघि बढाइएको जिल्ला प्रशासन कार्यालय चितवनले जनाएको छ।
आइतबार जिल्ला प्रशासन कार्यालय चितवनमा आयोजित पत्रकार सम्मेलनमा प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले हालसम्म ९६ वटा शव जमिनमुनि व्यवस्थापन गरिएको जानकारी दिए। उनका अनुसार यो दाहसंस्कार नभई भविष्यमा आवश्यक परे पुनः निकाल्न सकिने गरी सम्मानजनक रूपमा व्यवस्थापन गरिएको हो।
हालसम्म चितवनमा कुल २७२ वटा शव फेला परेका छन्। तीमध्ये १० वटा शव मात्र पहिचान भई परिवारलाई बुझाइएको छ भने २६२ वटा शव अझै पहिचान हुन सकेका छैनन्। दुई वटा शवको अवस्था महिला वा पुरुष छुट्याउनसमेत कठिन रहेको प्रशासनले जनाएको छ।- “यो दाहसंस्कार होइन, शवको सम्मानजनक व्यवस्थापन मात्र हो,” प्रमुख जिल्ला अधिकारी अर्यालले भने, “भविष्यमा परिवारका सदस्य डीएनए परीक्षणका लागि आए र नमुना मिल्यो भने शव निकालेर जिम्मा दिन सकिन्छ।”
फरेन्सिक परीक्षणमा संलग्न चिकित्सकहरूका अनुसार सबै शवबाट डीएनएका लागि आवश्यक दाँत, हड्डीलगायतका नमुना संकलन गरी नेपाल प्रहरीलाई बुझाइएको छ। डीएनए परीक्षणका लागि नमुना संकलनको काम चितवनमै भए पनि यसको विश्लेषण भने अन्यत्र हुने जनाइएको छ।
अधिकांश शव कुहिन थालेपछि दुर्गन्ध फैलिन सक्ने अवस्था रहेकाले सार्वजनिक स्वास्थ्यलाई ध्यानमा राख्दै व्यवस्थापन प्रक्रिया अघि बढाइएको अधिकारीहरूले बताएका छन्।
भरतपुर अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. विश्वबन्धु बगाले वैज्ञानिक ढंगले जमिनमुनि व्यवस्थापन गरिएका शवबाट संक्रमण वा महामारी फैलिने जोखिम नरहेको बताए।
–00–


