चितवन, १३ भदौ । रसुवा बाढीपछिका दिनमा त्रिशूली र नारायणी नदी किनारबाट सङ्कलन गरिएका अज्ञात शवहरूलाई अन्तर्राष्ट्रिय रेडक्रस समिति (आईसीआरसी) को मापदण्डअनुसार चितवनमा समाधिस्थ गर्ने तयारी गरिएको छ। शव व्यवस्थापनका लागि भरतपुर महानगरपालिका–१ स्थित देवघाटको वन क्षेत्रमा खाल्डो खन्ने कार्य सुरु भएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक रामेश्वर पौडेलका अनुसार आईसीआरसीको मापदण्डअनुसार लामो खाल्डो तयार गरी शवहरूबीच करिब ४० सेन्टिमिटर दूरी कायम गरेर राखिनेछ। शवलाई सुताएर राखिने र भविष्यमा पहिचान गर्न सहज होस् भनेर प्रत्येक शवसँग तथा माथिल्लो भागमा छुट्टाछुट्टै सङ्केत चिन्ह राखिने व्यवस्था मिलाइएको उहाँले जानकारी दिनुभयो।
रेडक्रस सोसाइटी चितवन शाखाका सभापति हरि पौडेलले अन्तर्राष्ट्रिय मापदण्डले शवको पहिचान, अभिलेखीकरण तथा सम्मानजनक व्यवस्थापनलाई प्राथमिकता दिएको बताउनुभयो। उहाँका अनुसार तत्काल परिवारलाई जिम्मा लगाउन नसकिने शवहरू सुरक्षित रूपमा समाधिस्थ गरिनुका साथै तिनको स्थान, तस्बिर, पहिचानसम्बन्धी विवरण र अन्य आवश्यक अभिलेख सुरक्षित राखिनेछ, जसले भविष्यमा पहिचान प्रक्रिया अघि बढाउन सहयोग पुर्याउनेछ।
हालसम्म चितवनमा २३३ वटा शव सङ्कलन गरिएकामा केवल छवटाको मात्रै सनाखत भएको छ। बाँकी शव भरतपुर अस्पताल र अस्थायी शवगृहमा राखिएका भए पनि समय बित्दै जाँदा शव कुहिन थालेकाले स्वास्थ्य जोखिम बढ्ने अवस्था देखिएको प्रहरीको भनाइ छ।
शवको पहिचान सम्भावना जोगाइराख्न सबै शवबाट डिएनए नमुना सङ्कलन गरिसकिएको छ। त्यसपछि मात्रै समाधिस्थ गर्ने प्रक्रिया अघि बढाइएको हो।
जिल्ला सुरक्षा समितिको शुक्रबार बसेको बैठकले अज्ञात शवहरूलाई अन्तर्राष्ट्रिय मापदण्डअनुसार समाधिस्थ गर्ने निर्णय गरेपछि व्यवस्थापनको काम तीव्र पारिएको हो। ती शवहरू रसुवाको विनाशकारी बाढीपछि त्रिशूली र नारायणी नदीबाट सङ्कलन गरिएका हुन्।

