काठमाडौँ । ८७ वर्षीया व्यवसायी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग प्रदान गर्नुभएको छ। व्यक्तिगत तवरबाट राहत कोषमा प्राप्त ठूला सहयोगमध्ये यो एक रहेको जनाइएको छ।
राणाले आफ्ना सहयोगी कृष्ण बस्नेतमार्फत पठाउनुभएको उक्त रकमको चेक शुक्रबार अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरिएको हो।
यस अवसरमा राणाको कार्यालयमा कार्यरत कर्मचारीहरूले समेत आफ्नै पहलमा संकलन गरेको ८० हजार रुपैयाँ राहत कोषका लागि प्रदान गरेका छन्।
राणाले आर्थिक सहयोगसँगै थप २५ लाख रुपैयाँ बराबरको खाद्यान्न तथा अन्य आवश्यक जिन्सी सामग्री उपलब्ध गराउने तयारीसमेत गर्नुभएको छ। अर्थ मन्त्रालय र गृह मन्त्रालयसँग समन्वय गरी आवश्यक परेको स्थानमा उक्त सहयोग पुर्याइने प्रतिबद्धता व्यक्त गरिएको सहयोगी कृष्ण बस्नेतले जानकारी दिनुभयो।
हालैका प्राकृतिक विपद्बाट प्रभावित नागरिकहरूको राहत तथा उद्धारमा सहयोग पुगोस् भन्ने उद्देश्यले राणाले उक्त सहयोग उपलब्ध गराउनुभएको बताइएको छ।


