चितवन । नेपालमा विश्वकै दुर्लभ एकसिङे गैंडा गणना आगामी फागुन/चैतमा हुने भएको छ । निकुञ्ज विभागका महानिर्देशक डा. रामचन्द्र कँडेलका अनुसार गणनाका लागि आवश्यक स्रोत जुटाउने काम भइरहेको छ ।
यस वर्ष सरकारले २० लाख मात्र बजेट विनियोजन गरे पनि करिब १ करोड ५० लाख खर्च हुने अनुमान छ । बाँकी रकम विभिन्न दातृ निकाय तथा निजी क्षेत्रबाट जुटाइने विभागले जनाएको छ ।
सन् २०२१ मा भएको पछिल्लो गणनामा नेपालमा ७५२ गैंडा रहेको तथ्यांक सार्वजनिक भएको थियो । चितवनमा मात्रै ६९४ गैंडा भेटिएका थिए । गैंडा गणना चितवन, पर्सा, बर्दिया र शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गरिनेछ । गणनाबाट गैंडाको संख्या, प्रजनन, विचरण र आहाराबारे जानकारी पाएर संरक्षण योजना बनाउन सहज हुने जनाइएको छ । –00–

