फेला परेका शवमध्ये २६ जना महिला, ५३ जना पुरुष, ६ बालक र २ बालिका रहेका छन्। यस्तै, ४३ वटा शवको पहिचान अझै खुल्न नसकेको प्रहरीले जानकारी दिएको छ।
बाढी प्रभावित क्षेत्रमा बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्यलाई तीव्र पारिएको छ। नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी बल तथा स्थानीयवासीको सहभागितामा खोजी अभियान निरन्तर सञ्चालन भइरहेको छ।
सुरक्षा निकायका अनुसार नदीको बहावसँगै बगेर आएका शवहरू नदी किनारमा काठदाउरा र अन्य वस्तुसँग अड्किएको अवस्थामा भेटिएका छन्। केही शव भने बालुवा तथा गेग्र्यानले पुरिएको अवस्थामा फेला परेका छन्।
उद्धार तथा शव संकलन कार्यमा खटिएका सुरक्षा अधिकारीहरूका अनुसार अधिकांश शवको अवस्था अत्यन्तै क्षतिग्रस्त भएकाले पहिचान गर्न कठिन भइरहेको छ। बेपत्ता व्यक्तिहरूको खोजी र फेला परेका शवहरूको पहिचान तथा व्यवस्थापन कार्यलाई प्राथमिकताका साथ अघि बढाइएको जनाइएको छ।


