विराटनगर । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो निर्वाचनमा जनताले सही निर्णय गर्न नसकेको टिप्पणी गर्दै अब त्यो गल्ती सच्याउनुपर्ने बताएका छन्।
झापामा ‘मिसन जनजागरण अभियान’ उद्घाटन गर्दै अध्यक्ष ओलीले देश र जनताको हितमा काम गर्ने शक्तिलाई मत नदिई अन्यत्र मतदान गर्नु जनताको गल्ती भएको दाबी गरे। उनले जनतासँगै एमालेले पनि आफ्ना कमजोरी सच्याएर अघि बढ्नुपर्ने बताए।
“जनताले गरेको गल्ती पनि सच्याउनुपर्छ, हामीले पनि सच्चिएर अगाडि बढ्नुपर्छ। त्यसका लागि जनतामाझ जान आवश्यक छ,” उनले भने।
पार्टीभित्र एकताको आवश्यकता औँल्याउँदै ओलीले अहिले गुटबन्दी गर्ने नभई पुनर्जागरणको अभियानमा जुट्ने समय भएको बताए। गुटबन्दीले विगतमा पटक–पटक पार्टीलाई कमजोर बनाएको उनको भनाइ थियो।
“गुटबन्दीमा सधैं उही मानिसहरू सक्रिय छन्। उनीहरू पार्टीको हितमा होइन, अन्य स्वार्थका लागि लागेका छन्,” उनले आरोप लगाए।
पार्टी पुनर्गठनको नाममा नेतृत्व परिवर्तनको अभियान चलाइएको भन्दै ओलीले त्यसलाई वास्तविक पुनर्गठन मान्न नसकिने बताए। “राधे–राधे ओढ्ने अनि भित्रबाट छुरा रोप्ने काम पुनर्गठन होइन,” उनले भने, “बाहिर एउटा कुरा गर्ने र भित्र अर्कै खेल खेल्ने प्रवृत्ति पार्टीलाई स्वीकार्य हुँदैन।”
अध्यक्ष फेर्ने चर्चा चलिरहेको उल्लेख गर्दै उनले त्यसको औचित्यमाथि प्रश्न उठाए। “केही मानिस अध्यक्ष फेर्ने कुरा गरिरहेका छन्, तर किन र कसका लागि फेर्ने हो ? कार्यकर्ताबाट यस्तो माग आएको मैले सुनेको छैन,” उनले भने।
ओलीले पुनर्गठन भनेको केवल नेतृत्व परिवर्तन नभई नीति, कार्यक्रम, संघर्ष र गन्तव्यसम्म नयाँ ढंगले परिभाषित गर्ने प्रक्रिया भएको बताए। अहिले भने पार्टी पुनर्गठनको होइन, पुनर्जागरणको चरणमा रहेको उनको भनाइ थियो।
त्यसैगरी, उनले भदौ २३ र २४ गते भएको आन्दोलनलाई हुल्लडबाजीमार्फत सत्ता कब्जा गर्ने कुत्सित प्रयासको संज्ञा दिए। देशलाई अशान्त बनाउने उद्देश्यसहित गरिएको उक्त आन्दोलनलाई फागुन २१ को निर्वाचनमार्फत वैधता दिने प्रयास भएको आरोप पनि उनले लगाए।
प्रतिनिधिसभा पुनःस्थापनाको मागका क्रममा अन्य दलहरूले एमालेलाई मात्र कमजोर पार्ने उद्देश्यले साथ नदिएको उल्लेख गर्दै ओलीले एमालेका लागि खनिएको खाल्डोमा अन्ततः ती दलहरू आफैं परेको दाबी गरे।


