चितवन । मुग्लिन–नारायणघाट सडकखण्डमा सुक्खा पहिरोका कारण अवरुद्ध भएको यातायात पुनः सञ्चालनमा आएको छ।
जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार इच्छाकामना गाउँपालिका–५ स्थित सिमलधारामा पृथ्वी राजमार्गमाथिबाट रूखसहितको सुक्खा पहिरो खसेपछि हिजो राति १०ः२५ बजेदेखि सडक दुईतर्फी अवरुद्ध भएको थियो।
पहिरो पन्छाउने कार्य सम्पन्न भएपछि आज बिहान ६ः१५ बजेदेखि सडकमा दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएको प्रहरीले जनाएको छ। यातायात सञ्चालन भएसँगै बीच बाटोमा रोकिएका सवारीसाधनहरू पनि आ–आफ्नो गन्तव्यतर्फ प्रस्थान गरेका छन्।
प्रहरीले वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा सावधानी अपनाउन चालक तथा यात्रुहरूलाई आग्रह गरेको छ।


