चितवन । थारू समुदायको भाषा, कलासंस्कृति तथा मौलिक परिकार र पहिचानको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको ११औँ खिचरा महोत्सव २०८२ को आय–व्यय सार्वजनिक गरिएको छ । महोत्सवबाट १ लाख १५ हजार ८५६ रुपैयाँ नगद बचत भएको आयोजकले जनाएको छ ।
थारू कल्याणकारिणी सभा चितवन, क्षेत्र नं. ७ को निर्माणाधीन संग्रहालय भवनमा आयोजित कार्यक्रममा महोत्सवको आय–व्यय सार्वजनिक गरिएको हो ।
२०८२ पुस २९ गतेदेखि माघ १० गतेसम्म १२ दिन सञ्चालन भएको महोत्सवमा ८५ लाख ५१ हजार ९९२ रुपैयाँ आम्दानी भएको आर्थिक समितिका संयोजक नारायणप्रसाद महतोले जानकारी दिए । उनका अनुसार महोत्सव सञ्चालनका क्रममा ८४ लाख ३६ हजार १३६ रुपैयाँ खर्च भएको छ । आम्दानी र खर्चको हिसाबअनुसार महोत्सवबाट १ लाख १५ हजार ८५६ रुपैयाँ नगद बचत भएको हो ।
महोत्सवमा प्रयोग भएका तथा खरिद गरिएका करिब ३ लाख ५० हजार बराबरकाे जिन्सी सामग्रीसमेत मौज्दात रहेको आयोजकले जनाएको छ ।
कार्यक्रममा खैरहनी नगरपालिका–४ का वडाध्यक्ष वेदबहादुर अधिकारी, वडा नं. ५ का वडाध्यक्ष छत्रनाथ सुवेदी, वडा नं. ८ का वडाध्यक्ष शंकर कँडेल, वडा नं. १० का वडाध्यक्ष चन्द्रविक्रम चौधरी, वडा नं. ११ का वडाध्यक्ष दीपेन्द्रकुमार दराई, थारू कल्याणकारिणी सभा चितवनका पूर्वसभापति टिकेन्द्र चौधरीलगायतले मन्तव्य व्यक्त गरेका थिए । त्यसैगरी थारू कल्याणकारिणी सभा चितवन क्षेत्र नं. ७ का सभापतिद्वय धनवीर चौधरी र जंगीलाल चौधरी, खैरहनी नगरपालिका–१० का वडासदस्य सुरेन्द्र चौधरी, विक्रम चौधरी, जीतबहादुर चौधरीलगायतले पनि महोत्सवका विभिन्न पक्षबारे धारणा राखेका थिए ।
वक्ताहरूले महोत्सव ११औँ संस्करण विगतका वर्षहरूको तुलनामा थप व्यवस्थित देखिएको उल्लेख गर्दै आगामी संस्करणमा व्यवस्थापनलाई अझ प्रभावकारी बनाउनुपर्नेमा जोड दिए ।
महोत्सवलाई थप व्यवस्थित, पारदर्शी र प्रभावकारी बनाउन स्थानीय तह, समुदाय तथा सम्बन्धित पक्षबाट निरन्तर सहयोग आवश्यक रहेको उनीहरूको भनाइ थियो ।
कार्यक्रममा खैरहनी नगरपालिका–७ का वडाध्यक्ष मनेजर महतो, वडा नं. ९ का वडाध्यक्ष बन्धुराम महतो, कार्यपालिका सदस्य बुधरमिया महतो, वडासदस्य सोमिया चौधरीलगायतको उपस्थिति थियो ।
कार्यक्रम ११औँ खिचरा महोत्सव मूल आयोजक समितिका संयोजक कृष्णलाल चौधरीको अध्यक्षतामा सम्पन्न भएको हाे ।


