मुग्लानका स्रष्टा आर.पी. पन्तको ‘झुटो रहेछ हे दैव’ ले बटुल्दै दर्शकको माया

चितवन । नेपाली संगीत क्षेत्रमा भावनात्मक गीतहरूको लोकप्रियता निरन्तर बढिरहेका बेला गीतकार आर.पी. पन्त को नयाँ सिर्जना ‘झुटो रहेछ हे दैव’ ले दर्शक तथा श्रोताको सकारात्मक प्रतिक्रिया बटुल्न थालेको छ। चर्चित गायक शिव परियार को स्वरमा सजिएको गीत केही दिनअघि ओएसआर डिजिटल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो।

गम्भीर विष्टा क्रियशन र सजिना क्रियशन बुटिकको प्रस्तुतिमा तयार भएको गीतले प्रेम, बिछोड, पीडा र जीवनका यथार्थ अनुभूतिलाई मार्मिक ढंगले प्रस्तुत गरेको छ। सार्वजनिक भएको छोटो समयमै गीतले सामाजिक सञ्जाल तथा युट्युबमा राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको निर्माण पक्षले जनाएको छ।

गीतका सर्जक आर.पी. पन्त हाल मुग्लानमा रहेर नेपाली गीत–संगीतको सिर्जनामा सक्रिय छन्। विदेश बसाइका अनुभव, जीवनका उतारचढाव र मानवीय संवेदनालाई आफ्ना सिर्जनामार्फत अभिव्यक्त गर्दै आएका पन्तले ‘झुटो रहेछ हे दैव’ मार्फत पनि श्रोताको मन छुने प्रयास गरेका छन्।

गीतमा डी.आर. अटु को संगीत रहेको छ भने संगीत संयोजन, मिक्सिङ तथा मास्टरिङ राजु कार्की ले गरेका छन्। गीतको रेकर्डिङ तथा पोस्ट–प्रोडक्सन कार्य लिम्डुमी क्रियशन मा सम्पन्न गरिएको हो।

गीतको म्युजिक भिडियो पनि उत्तिकै आकर्षक बनेको छ। भिडियोमा गम्भीर विष्टा, मीरा पण्डित, रामेश्वर केसी, प्रकाश बस्नेत, नेत्रप्रसाद भुसाल र बबिता पोखरेल को अभिनय रहेको छ। कलाकारहरूको जीवन्त अभिनयले गीतको भावनालाई थप प्रभावशाली बनाएको दर्शकहरूको प्रतिक्रिया छ।

भिडियोका निर्देशक गम्भीर विष्टा ले गीतको कथावस्तु र भावनालाई दृश्य भाषामार्फत दर्शकमाझ पुर्‍याउने प्रयास गरिएको बताए। उनका अनुसार गीतले जीवनमा हुने विश्वासघात, पीडा र भावनात्मक संघर्षलाई प्रस्तुत गरेको छ।

भिडियोको छायांकन देव दोर्जे लामा ले गरेका हुन् भने सम्पादन तथा कलर ग्रेडिङ प्रवीण भट्ट ले गरेका छन्। निर्माण व्यवस्थापनको जिम्मेवारी न्यु सागर लामा ले सम्हालेका छन्। बबिता पोखरेल सहायक निर्देशकको भूमिकामा रहेकी छन्।

मेकअप आर्टिस्टका रूपमा प्रिया कार्की रहेकी छन् भने सजिनाज क्रियशन द बुटिक ले वार्डरोब पार्टनरको भूमिका निर्वाह गरेको छ।

गीतका लेखक आर.पी. पन्त ले सार्वजनिक भएदेखि नै गीतप्रति दर्शक तथा संगीतप्रेमीबाट उत्साहजनक प्रतिक्रिया प्राप्त भइरहेको बताए। उनले नेपाली मौलिक भावना र यथार्थ जीवनका कथालाई गीतमार्फत निरन्तर प्रस्तुत गर्ने प्रतिबद्धता व्यक्त गरे।

सशक्त शब्द, मधुर संगीत, शिव परियारको भावपूर्ण स्वर र प्रभावशाली दृश्य प्रस्तुतिका कारण ‘झुटो रहेछ हे दैव’ अहिले नेपाली संगीतप्रेमीमाझ चर्चाको विषय बनेको छ।

 

–00–

Share:

सम्बन्धित समाचारहरु