कालिका नगरपालिकाको नयाँ रणनीति: कृषि आधुनिकीकरणमार्फत आत्मनिर्भर अर्थतन्त्र निर्माणमा जोड

चितवन । कालिका नगरपालिकाले कृषि, पशुपालन र खाद्य सुरक्षालाई विकासको प्रमुख आधार बनाउँदै आर्थिक समृद्धितर्फ उन्मुख नयाँ नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ। नगरपालिकाले आधुनिक प्रविधिको प्रयोग, उत्पादन वृद्धि र कृषक सशक्तीकरणमार्फत आत्मनिर्भर कृषि प्रणाली निर्माण गर्ने लक्ष्य अघि सारेको छ।

“आर्थिक समृद्धिको आधार, कृषि तथा पशुपालन क्षेत्र विस्तार” भन्ने मूल नीतिअनुसार नगरपालिकाले कृषि क्षेत्रलाई स्थानीय अर्थतन्त्रको प्रमुख आधारका रूपमा विकास गर्ने योजना बनाएको छ। आजै आयोजना गरिएको नवौं नगर अधिवेशनको क्रममा नगर प्रमुख विनोद रेग्मीले प्रस्तुतगर्नुभएको नीति तथा कार्यक्रममा किसानलाई उन्नत बीउबिजन, गुणस्तरीय मल तथा प्राविधिक सहयोग उपलब्ध गराइनेमा जोड दिएको छ ।

 परम्परागत खेतीलाई व्यवसायमुखी र आधुनिक प्रणालीमा रूपान्तरण गर्न विशेष कार्यक्रम सञ्चालन गरिने भनिएको छ ।  कृषि औजार खरिदमा अनुदान दिने नीति पनि निरन्तर रहने जनाइएको छ।

पशुपालन क्षेत्रको उत्पादकत्व बढाउन नगरपालिकाले निःशुल्क पशु स्वास्थ्य सेवा, नियमित खोप तथा आवश्यक औषधि उपलब्ध गराउने व्यवस्था गरेको छ। पशुको नश्ल सुधारका लागि कृत्रिम गर्भाधान कार्यक्रमलाई उच्च प्राथमिकताका साथ सञ्चालन गरिनेछ। साथै, दूध उत्पादन गर्ने सहकारी संस्थाहरूलाई प्रोत्साहन र घाँसको बीउ वितरण कार्यक्रमलाई समेत निरन्तरता दिइनेछ।

खाद्य सुरक्षा र जिम्मेवार उपभोगमा जोड

“मिठो मसिनो खाऔँ, पोसिलो खाऔँ तर खाना नफालौँ” भन्ने नारासहित नगरपालिकाले खाद्य संस्कार प्रवर्द्धन अभियान सञ्चालन गर्ने भएको छ। विवाह, भोजभतेर तथा विभिन्न सामाजिक कार्यक्रमहरूमा हुने खाद्यान्नको अनावश्यक खेर जाने प्रवृत्ति नियन्त्रण गर्न आवश्यक नियमन गरिनेछ। साथै, विद्यालय र समुदायस्तरमा जनचेतनामूलक कार्यक्रममार्फत जिम्मेवार उपभोगको सन्देश प्रवाह गरिने लक्ष्य राखिएको छ।

  • माटोको अम्लीयपन तथा क्षारियपन परीक्षण गरी आवश्यक सुधारका उपाय लागू गरिने।
  • कृषकहरूको तथ्याङ्क सङ्कलन गरी किसान परिचय पत्र वितरण गरिने।
  • रेबिज नियन्त्रणका लागि सामुदायिक कुकुर तथा बिरालोको बन्ध्याकरण कार्यक्रमलाई निरन्तरता दिइने।
  • जैविक विषादीको प्रयोगलाई प्रोत्साहन गर्दै रासायनिक विषादीको प्रयोग क्रमशः न्यूनीकरण गरिने।

यी कार्यक्रमहरूको प्रभावकारी कार्यान्वयनबाट कृषकको आयआर्जन वृद्धि, उत्पादनशीलता विस्तार र स्थानीय अर्थतन्त्रलाई मजबुत बनाउँदै कालिका नगरपालिकालाई नमुना कृषि नगरका रूपमा स्थापित गर्ने विश्वास नगरपालिकाले व्यक्त गरेको छ।–00—-

Share:

सम्बन्धित समाचारहरु