मनसुनी प्रभाव कायम : देशका विभिन्न क्षेत्रमा वर्षाको सम्भावना, सतर्क रहन आग्रह

काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा हाल सरदर स्थानको आसपास रहेको छ ।

हाल देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रहेको छ । मधेश प्रदेश तथा कोशी प्रदेशका तराई क्षेत्रमा आंशिक बदली देखिएको छ भने गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका केही स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

आज दिउँसो कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका साथै कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा सामान्य बदली रहने अनुमान गरिएको छ । मधेश प्रदेश र सुदूरपश्चिमका तराई भूभागमा भने आंशिक बदली रहनेछ ।

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ । साथै मधेश प्रदेश तथा कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका तराई क्षेत्रका केही स्थानमा पनि वर्षा हुन सक्ने अनुमान गरिएको छ ।

आज राति पनि देशभर सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी तथा हिमाली क्षेत्रमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी, कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रका केही स्थान तथा मधेश प्रदेशका एक–दुई स्थानमा पनि वर्षा हुन सक्ने सम्भावना छ ।

महाशाखाले भारी वर्षाका कारण गेग्रान बहाव, बाढी, पहिरो तथा भूक्षयको जोखिम बढ्न सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ । सम्भावित विपद्का कारण दैनिक जनजीवन, कृषि, स्वास्थ्य सेवा, पर्यटन, पर्वतारोहण तथा सडक र हवाई यातायात प्रभावित हुन सक्ने भएकाले आवश्यक सावधानी अपनाउन अनुरोध गरिएको छ।

Share:

सम्बन्धित समाचारहरु