उदयपुर, ६ असार । महोत्तरीबाट सुनसरीतर्फ जाँदै गरेको एक स्कुल बस उदयपुरमा दुर्घटना हुँदा ३२ जना घाइते भएका छन्।
बा.२ ख ६४३८ नम्बरको बस आज बिहान करिब ९ बजे उदयपुरगढी गाउँपालिका–७ अँधेरी क्षेत्रमा दुर्घटनामा परेको हो। ट्राफिक प्रहरीका अनुसार बस सडकबाट करिब २५ मिटर तल खसेको थियो।
दुर्घटनालगत्तै प्रहरी र स्थानीयवासीको सक्रियतामा घाइतेहरूको उद्धार गरिएको थियो। घाइते सबैलाई उपचारका लागि जिल्ला अस्पताल उदयपुर पठाइएको प्रहरीले जनाएको छ।
दुर्घटनाको कारण तत्काल खुल्न नसकेको र घटनाबारे थप विवरण संकलन भइरहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। प्रहरीले दुर्घटनाको कारणबारे अनुसन्धान अघि बढाएको छ। घाइतेहरूको अवस्था तथा दुर्घटनाको विस्तृत विवरण आउन बाँकी रहेको बताइएको छ।


