सर्पको टोकाइबाट सुर्खेतमा महिलाको मृत्यु
काठमाडौं, २७ साउन । सुर्खेतको चौकुने गाउँपालिका–१० चालिखेकी ५६ वर्षीया देउमा कामीको सर्पको टोकाइबाट मृत्यु भएको छ।
बुधबार बिहान घरमै हात धुने क्रममा उनको दायाँ हातको चोर औँलामा सर्पले टोकेको थियो। सर्पदंशपछि तत्काल उपचारका लागि उनलाई नजिकैको स्वास्थ्य संस्थामा लगिएको भए पनि अवस्था गम्भीर बनेपछि थप उपचारका लागि सुर्खेत अस्पताल रेफर गरिएको थियो।
मृतकका देवर बाल विंकका अनुसार सुरुमा देउमालाई पश्चिम बाजुरा चौरस्थित पलाईते स्वास्थ्य संस्थामा पुर्याइएको थियो। त्यहाँ प्राथमिक उपचार गरिए पनि आवश्यक उपकरण र स्रोत–साधनको अभावका कारण उनलाई सुर्खेत अस्पताल पठाइएको थियो।
तर, सुर्खेत अस्पतालतर्फ लैजाँदै गर्दा बाटोमै उनको मृत्यु भएको विंकले जानकारी दिए। उनले ग्रामीण क्षेत्रमा सर्पदंशका बिरामीका लागि आवश्यक उपचार सेवा र साधन–स्रोतको अभाव रहेको गुनासो समेत गरे।


