जनकपुरधाम, १९ साउन । महोत्तरीको गौशाला नगरपालिकामा स्कुल बस दुर्घटना हुँदा पाँच बालबालिकासहित ६ जना घाइते भएका छन्।
मंगलबार बिहान करिब साढे ७ बजे गौशाला नगरपालिका–९ डुमरवानास्थित भित्री सडकखण्डमा मोर्डन सारदा शिक्षा मदन बोर्डिङ स्कुलको बा १ क ६१२९ नम्बरको बस दुर्घटनामा परेको हो।
इमली बजारबाट गौशालातर्फ जाँदै गरेको बस अनियन्त्रित भई सडकबाट उखुबारीमा खसेको प्रहरीले जनाएको छ।
दुर्घटनामा बस चालक गौशाला नगरपालिका–५ निवासी करिब ४० वर्षीय विजय भुजेल घाइते भएका छन्। यस्तै गौशाला–११ निवासी महेश्वर महतोका १० वर्षीय प्रतिक कुशवाहा, ८ वर्षीय प्रज्वल कुशवाहा र १३ वर्षीया प्रिति कुशवाहा घाइते भएका छन्।
त्यसैगरी गौशाला–९ निवासी शेख जावेदका १३ वर्षीय छोरा उमर शेख र गौशाला–११ निवासी रमेश कुमार महतोका ६ वर्षीय छोरा आदर्श कुशवाहा पनि घाइते भएका छन्।
महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी पञ्चलाल गोलेका अनुसार प्रहरी चौकी कान्तिबजारबाट खटिएको टोलीले घाइतेहरूको उद्धार गरी उपचारका लागि बीके अस्पताल गौशाला तथा स्थानीय मेडिकलमा पठाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ।

