दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न भक्तपुर जिल्ला अदालतको आदेश

काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई थुनामुक्त गर्न भक्तपुर जिल्ला अदालतले आदेश दिएको छ । अदालतले प्रसाईंलाई अनुसन्धानका लागि म्याद थप गर्न अस्वीकार गर्दै तत्काल थुनामुक्त गर्न प्रहरीलाई आदेश दिएको हो ।

प्रसाईंलाई अनुसन्धानका लागि सात दिनको म्याद थप गर्न माग गर्दै प्रहरीले सोमबार अदालतमा पेस गरेको थियो । तर अदालतले प्रहरीको माग अस्वीकार गरेको हो ।

प्रसाईंलाई गैरकानुनी रूपमा थुनामा राखिएको दाबी गर्दै सोमबार नै सर्वोच्च अदालतमा बन्दीप्रत्यक्षीकरणको रिटसमेत दायर भएको थियो । प्रसाईंकी श्रीमती उमाले साउन १८ गते रिट दायर गरेकी हुन् ।

रिटमा प्रसाईंलाई आइतबार राति प्रहरीले बिना कारण पक्राउ गरेको दाबी गरिएको छ । उक्त रिटमाथि सुनुवाइका लागि मंगलबार पेसी तोकिएको थियो ।

यता, जिल्ला अदालतको आदेशपछि प्रसाईं जिल्ला प्रहरी परिसर भक्तपुरको हिरासतबाट छुट्ने तयारीमा छन् ।

प्रहरीले प्रसाईंविरुद्ध सार्वजनिक नैतिकता तथा शिष्टाचारविरुद्धको कसुर र सार्वजनिक शान्तिविरुद्धको कसुरलगायत तीनवटा आरोपमा अनुसन्धानका लागि म्याद थप गर्न अदालतसमक्ष माग गरेको थियो ।

प्रसाईंले यसअघि सरकारविरुद्ध आन्दोलन गर्ने घोषणा गरेका थिए ।

 

फाइल तस्विर ।

Share:

सम्बन्धित समाचारहरु