मानव तस्करी नियन्त्रणका लागि भारतसँग जोडिएको त्रिवेणी नाकामा सूचना तथा परामर्श केन्द्र (बुथ) स्थापना -(भिडियोसहित)

परासी, २७ जेठ । भारतसँग जोडिएको त्रिवेणी नाकामा सूचना तथा परामर्श केन्द्र (बुथ) स्थापना गरिएको छ । मानव बेचविखन विरुद्धको अभियान अन्तर्गत ज्योति सामुदायिक विकास सेवा केन्द्रले स्थापना गरेको हो । परीक्षणकालिन समयका लागि तीन महिना अघि परामर्श केन्द्र (बुथ)स्थापना भएपनि विहीवारमात्रै औपचारिक उद्घाटन गरिएको छ ।

त्रिवेणी गाउँपालिका वडा नं. ७ का वडा अध्यक्ष उमेश कार्कीले एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन । उद्घाटन कार्यक्रममा बोल्दै वडा अध्यक्ष कार्कीले सबैको प्रयासले मात्रै मानव तस्करी नियन्त्रण हुने बताए । खुलेआम रुपमा भइरहेको मानव तस्करी न्यूनिकरणगर्न नाका क्षेत्रमै स्थापना गरिएको परामर्श केन्द्रले ठूलो अर्थ राख्ने बताए । वडा अध्यक्ष कार्की यो अभियानमा स्थानीय जनप्रतिनिधिहरुपनि सक्रिय भएर लाग्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा स्थानीय सशस्त्र प्रहरी बलका प्रहरी निरीक्षक पदम पाण्डेले सीमा क्षेत्रवाट डरलाग्दो तरिकाले मानव बेचविखन भइरहेको जानकारी दिए । अस्वभाविक रुपमा रातको १२ बजे युवतीहरु बोकेर सीमा क्षेत्रमा शंकास्पद व्यक्तिहरु पुग्ने गरेको उनले बताए । १४ देखि २५ वर्ष उमेर समुहका युवतीहरुबढी भारत जान आउने गरेको छ उनले भने । दाङवाट समेत भारत जान यो क्षेत्रमा आउने गरेको उनले सुनाए । सशस्त्र प्रहरी बलका पाण्डेका अनुसार पारिवारीक झै झगडा, घरेलु हिंसा, र मायाप्रेम अभावका कारणले पनि युवा युवतीहरु भारत जाने आउने गरेका छन् ।

कार्यक्रममा बरिष्ठ प्रहरी नायव निरीक्षक प्रेम बहादुर विष्टले मानव बेचबिखनसँगै लागु औषध तथा हातहतियार ओसार पसार जस्ता अपराधिक कृयाकलाप सीमा क्षेत्रमा हुनेगरेको जानकारी दिए । अभाव, अशिक्षा र गरिबीका कारण मानव बेचबिखन भइरहेको बताए । सबैको सामुहिक प्रयासबाट मात्रै यो अभियान सफल हुने उनको भनाई छ ।

कार्यक्रममा हिंसामुक्त समाज निर्माण अभियानकी अध्यक्ष भगीरता घर्तीमगर, त्रिवेणी गाउँपालिका वडा नं. ७ का वडा शोभा क्षेत्री लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रम ज्योति सामुदायिक विकास सेवा केन्द्रका कार्यकारी निर्देशक राजन सुनारको अध्यक्षतमा आयोजना गरिएको थियो ।

गण्डकी प्रदेशसँग जोडिएको एकमात्र भारतीय नाका त्रिवेणी स्थ्ति गण्डक ब्यारेजको यो पुल भएर दैनिक सयौं नेपाली र भारतीय नागरिकहरु ओहोरदोहोरगर्छन । भारतसँगको खूल्ला सीमानाका कारण यही नाका भएर मानव तस्करी समेत भइरहेको सूचनाका आधारमा तीन महिना अघि ज्योति सामुदायिक विकास सेवा केन्द्रले परीक्षणकालिन (बुथ) सूचना तथा परामर्श केन्द्र स्थापना गरेको थियो । तीन महिनाको अवधिमा यो क्षेत्रमा मानव बेचविखन विरुद्धको अभियान आवश्यक रहेको देखिएपछि परीक्षणकालिन स्थापना गरेको (बुथ) परामर्श केन्द्रलाई पूणकालिन रुपमा निरन्तरता दिने निर्णय गरेको हो ।

परामर्श केन्द्रले सीमा क्षेत्रमा पुग्ने खासगरी महिलाहरुलाई भारत जानपर्ने कारण, भारत जान लागेको बारे परिवारलाई जानकारी भए नभएको विषयमा जानकारी लिनेगर्दछ । भारतमा गएपछि हुन सक्ने जोखिम र अपनाउनुपर्ने सावधानीको विषयमा समेत सूचना तथा परामर्श गर्ने गरेका छन् । तत्कालका लागि परामर्श केन्द्रमा २ जना महिला कर्मचारीहरु खटिएका छन् ।

ज्योति सामुदायिक विकास सेवा केन्द्रले दिएको तथ्यांक अनुसार बुथबाट दुई महिनाको अवधिमा १ सय ५४ जनासँग परामर्श गरेको छ । जस मध्ये ९ जनालाई सीमा क्षेत्रवाट उद्धार गरिएको कार्यक्रम संयोजक जिवन गहतराजले जानकारी दिए । उनका अनुसार ९ जना मध्ये ५ जनालाई ज्योति सामुदायिक विकास सेवा केन्दले आफ्नै होम संरक्षणमा राखेर भोलीपल्ट परिवारको जिम्मा लगाएर पठाएको छ भने अन्य ४ जनालाई प्रहरी कार्यालयवाट सम्बन्धीत परिवारको जिम्मा लगाइएको छ ।

फोटोःसेतो नेपाल

 

–00–

 

 

 

 

 

Share:

सम्बन्धित समाचारहरु