कपिलवस्तु, साउन १६ —
थारु पत्रकार संघ नेपाल शाखा कपिलवस्तुको पाँचौं साधारण सभा तथा अधिवेशनले पुनः दोस्रो कार्यकालका लागि सरिता थारुको अध्यक्षतामा ९ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत रूपमा चयन गरेको छ।
नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा सोनकुमारी थारु, सचिवमा सृजना थारु, सहसचिवमा नरेश थारु, कोषाध्यक्षमा दिपक चौधरी तथा सदस्यहरूमा सुमन थारु, रन्जिता थारु, अनिष चौधरी र हेमन्त चौधरी चयन भएका छन्।
बुद्धआवाज सञ्चार गृहमा सम्पन्न कार्यक्रममा थारु पत्रकार संघ नेपालका केन्द्रीय उप महासचिव कमल सिंह चौधरी प्रमुख अतिथि रहनुभएको थियो। कार्यक्रममा थारु कल्याणकारिणी सभा केन्द्रीय सदस्यद्वय सुमित्रा थारु र उमाशंकर चौधरी तथा थारु पत्रकार संघ नेपालका निवर्तमान अध्यक्ष एवं जिल्ला सल्लाहकार श्याम सिटी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो।
प्रमुख अतिथि कमल सिंह चौधरीले नवनिर्वाचित कार्यसमितिलाई बधाई दिँदै थारु समुदायका आवाज, भाषा, संस्कृति र पहिचानलाई पत्रकारितामार्फत सशक्त रूपमा स्थापित गर्न संघले अझ प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो। उहाँले पत्रकारहरूको क्षमता अभिवृद्धि, व्यावसायिकता र संगठन सुदृढीकरणमा केन्द्रले आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
विशिष्ट अतिथि सुमित्रा थारुले पत्रकारिता समाज परिवर्तनको बलियो माध्यम भएकाले थारु पत्रकारहरूले समुदायका वास्तविक मुद्दालाई प्राथमिकताका साथ उठाउनुपर्ने धारणा राख्नुभयो। उहाँले महिला पत्रकारहरूको नेतृत्वदायी भूमिकाले संस्थालाई थप उर्जाशील बनाएको उल्लेख गर्नुभयो।
अर्का विशिष्ट अतिथि उमाशंकर चौधरीले थारु पत्रकारहरूबीच एकता, समन्वय र पेशागत मर्यादा कायम गर्दै समुदायको हकहितका विषयमा जिम्मेवार ढंगले कलम चलाउन आग्रह गर्नुभयो।
निवर्तमान अध्यक्ष तथा जिल्ला सल्लाहकार श्याम सिटीले नयाँ नेतृत्वलाई शुभकामना दिँदै संस्थागत निरन्तरता, पत्रकारहरूको क्षमता विकास र संगठन विस्तारमा सबैको सहकार्य आवश्यक रहेको बताउनुभयो।
नवनिर्वाचित अध्यक्ष सरिता थारुले आफूलाई पुनः नेतृत्वको जिम्मेवारी दिएकोमा सम्पूर्ण सदस्यप्रति आभार व्यक्त गर्दै दोस्रो कार्यकालमा संगठनलाई थप सक्रिय, प्रभावकारी र सबै पत्रकारलाई समेट्ने गरी अघि बढाउने प्रतिबद्धता जनाउनुभयो। उहाँले पत्रकारहरूको पेशागत विकास, तालिम, क्षमता अभिवृद्धि तथा थारु समुदायका मुद्दालाई राष्ट्रिय तहसम्म पु¥याउने दिशामा नयाँ कार्यसमितिले प्राथमिकताका साथ काम गर्ने बताउनुभयो।


