चितवन, २८ पौष । थारु समुदायले मनाउने खिचरा पर्वको अवसर पारेर शनिबारदेखि खैरहनी नगरपालिका–५ गौचरनमा ‘नवौं खिचरा महोत्सव’ सुरु भएको छ । महोत्सवको बागमती प्रदेशका आर्थिक मालिला तथा योजना मन्त्री बाहादुरसिंह लामाले उद्घाटन गरेका छन् ।
चितवनका आदिवासी सुमदाय थारुहरुले माघ एक गतेलाई नयाँ वर्षका रुपमा ‘खिचरा पर्व’ भनेर मनाउने गर्दछन् । थारु कल्याणकारिणी सभा चितवन क्षेत्र नम्बर ७ ले खिचराको अवसरमा हरेक वर्ष महोत्सव गर्दै आएको छ । चितवनमा विभिन्न ठाउँमा आर्थिक कृयाकलाप बढाउने उद्देश्यले मेला महोत्सव हुने गरे पनि आदिवासी थारु समुदायको कला संस्कार संस्कृति र परिकारलाई प्रवर्द्धन गर्न थारु कल्याणकारिणी सभाले खिचरा महोत्सव सुरु गरेको सभाका पुर्व जिल्ला अध्यक्ष टिकेन्द्र चौधरीले बताए ।
हालका जिल्ला अध्यक्ष ललित चौधरीले चितवनमा ठुलो संख्यामा बसोबास गर्ने आदिवासी थारु समुदायको मौलिक रहन सहन, पोशाक परिकारहरु प्रवर्द्धन गरे बागमती प्रदेशकै पर्यटन विकासमा ठुलो टेवा पुग्ने बताए । तर प्रदेश सभामा थारुहरुको प्रतिनिधित्व रहन छाडेको हुँदा समानुपातिक समावेशी सिद्धान्तलाई व्यवहारमा ल्याउन मन्त्री लामासँग माग गरे ।
महोत्सवमा थारु संस्कार संस्कृतिका साथै जिल्लाको कृषि र आर्थिक क्षेत्रलाई पनि टेवा दिन महोत्सव परिसरमा उद्योग, व्यपार, कृषि र पर्यटनसँग सम्बन्धित १५० वटा स्टलहरु रहेको मुल आयोजक समितिका संयोजक रामेश्वर चोधरीले जानकारी दिए ।
यसका साथै थारु समुदायका परिकारहरु घोँगी, हाँस, माछा, अनदी चामललाई बफाएर बनाइने परिकार चिच्चर र त्यसलाई भोर्ला या केराको पातमा बेरेर बनाएको पोका बेच्न राखेका खाना र परिकारका स्टलहरु पनि महोत्सवमा छन् ।
थारु समुदायका मौलिक गीत र नाँचहरु प्रसस्तै छन् । तर पछिल्लो समय ति हराउँदै जान लागेका छन् । थारु समुदायका प्रचलित ठेकरा, झमटा, झुमरा, रसधारी, झररा, लाठी नाँच जस्ता साँस्कृतिक नृत्यहरु महोत्सव अवधिभर प्रस्तुत हुने संयोजक रामेश्वर चौधरीले बताए ।
महोत्सव स्थलमा थारु समुदायको ब्रहृम थानदेखि हस्तकलाका सामाग्री र घोगी र चिच्चर पोकाको मुर्तीहरु प्रदर्शनीका लागि राखिएको छ । महोत्सव माघ १० गतेसम्म चल्ने छ ।

–00–

