काठमाडौं । देशभर फैलिँदै गएको आन्दोलन र अराजक गतिविधिलाई नियन्त्रणमा लिन नेपाली सेनाले बुधबार बेलुकीसम्म निषेधाज्ञा जारी गरेको छ।
सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयले जारी गरेको अपिलअनुसार बुधबार बेलुकी ५ बजेसम्म निषेधाज्ञा रहनेछ भने त्यसपछि बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू आदेश लागू हुने छ। निषेधाज्ञा र कर्फ्यू अवधिमा लक्ष्मी बैंकका गाडी, एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी प्रयोग गर्ने सवारीसाधनबाहेक अन्य सम्पूर्ण सवारी सञ्चालनमा रोक लगाइएको छ।
सेनाले आन्दोलनका नाममा हुने तोडफोड, आगजनी, लुटपाट, व्यक्ति तथा सम्पत्ति लक्षित आक्रमणलाई दण्डनीय अपराधका रूपमा कडा कारबाही गरिने चेतावनी दिएको छ। साथै हालैका दिनमा केही अराजक समूहले व्यक्तिगत तथा सार्वजनिक सम्पत्ति क्षति, हिंस्रक आक्रमण र बलात्कार प्रयाससम्म गरेका घटनाबारे पनि सेनाले गम्भीर चिन्ता व्यक्त गरेको छ।
यससँगै नेपाली सेनाले अवकाश प्राप्त सैनिक, सुरक्षाकर्मी, राष्ट्रसेवक, सञ्चारकर्मी तथा आम नागरिकलाई अफवाहको पछि नलाग्न र आधिकारिक निकायबाट प्राप्त हुने सूचनामात्र विश्वास गर्न अनुरोध गरेको छ।–00–


