बर्दिबास । महोत्तरीको कालापानी वन प्रकरणमा निर्दोष व्यक्तिमाथि झुटा मुद्दा दर्ता गरिएको आरोप लगाउँदै स्थानीयवासीले वीपी राजमार्ग अवरुद्ध गरेका छन्। बिहीबार बिहान ७ बजेदेखि स्थानीयले सडकमा ढाट र मुढा राखेर राजमार्ग बन्द गरेका हुन्।
संघर्ष समितिका संयोजक गोपी श्रेष्ठका अनुसार सर्वदलीय बैठकले घटनामा आरोपितहरू निर्दोष रहेको निष्कर्ष निकाल्दै तीन दिनभित्र मुद्दा फिर्ता लिन प्रशासनलाई अल्टिमेटम दिएको थियो। तर माग सम्बोधन नभएपछि आन्दोलन चर्काइएको उनले बताए।
स्थानीयले झुटा मुद्दा फिर्ता लिनुका साथै डिभिजन वन कार्यालयका प्रमुखमाथि कारबाहीको माग गरेका छन्। आन्दोलनका कारण वीपी राजमार्गमा सवारी आवागमन प्रभावित भएको छ।
यसअघि जेठ ११ गते वन क्षेत्र खाली गराउने सूचना दिन पुगेका वन कर्मचारीलाई स्थानीयले घेराउ गरेका थिए। सोही क्रममा तनाव बढ्दा डिभिजन वन कार्यालयको सरकारी गाडीमा आगजनी भएको थियो।
घटनापछि भएको वार्तामा कसैमाथि मुद्दा नचलाउने सहमति भएको दाबी स्थानीयको छ। तर प्रहरीले असार १९ गते ‘अपराधिक उपद्रव’ शीर्षकमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएपछि स्थानीय आन्दोलित बनेका हुन्।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ भने संलग्न व्यक्तिहरूको बयान र प्रमाणका आधारमा कानुनी प्रक्रिया अघि बढाइनेछ।


