
कार्यक्रममा बोल्दै नगर प्रमुख रेग्मीले शिक्षामा सबै बालबालिकाको पहुँच सुनिश्चित गर्ने उद्देश्यसहित नगरपालिकाले सञ्चालन गरेको अभियानलाई निरन्तरता दिइएको बताउनुभयो। उहाँले अनिवार्य तथा निःशुल्क शिक्षा कार्यान्वयनमा स्थानीय समुदाय, अभिभावक तथा विद्यालयहरूको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्नुभयो।

शमीपुर विद्यालयका प्रधानाध्यापक धर्मेन्द्रजंग रायमाझीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको कार्यक्रममा सामाजिक विकास समितिका संयोजक तथा वडा नं. ४ का अध्यक्ष मकरमान श्रेष्ठले शिक्षाको पहुँचबाहिर रहेका बालबालिकालाई लक्षित गरी नगरपालिकाले यो अभियान सुरु गरेको जानकारी दिनुभयो। उहाँका अनुसार अझै पनि केही बालबालिका विद्यालय बाहिर रहेका छन्। विशेषगरी फरक क्षमता भएका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्न नगरपालिकाले विशेष कार्यक्रम सञ्चालन गरिरहेको उहाँले बताउनुभयो।

सम्पूर्ण राजनीतिक दलहरूको तर्फबाट मन्तव्य राख्दै राष्ट्रिय स्वतन्त्र पार्टीका वडा अध्यक्ष सन्दीप श्रेष्ठले कार्यक्रम स्वागतयोग्य भए पनि कार्यान्वयनमा ढिलाइ भएको टिप्पणी गर्नुभयो। “अन्य नगरपालिकाले कक्षा १२ सम्म निःशुल्क शिक्षा घोषणा गरिसक्दा हामीले बल्ल कक्षा ८ सम्मको निःशुल्क शिक्षाको घोषणा गरिरहेका छौँ,” उहाँले भन्नुभयो।

कार्यक्रममा कालिका नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवराज चौलागाईंले अनिवार्य शिक्षाले विद्यालय उमेरका सबै बालबालिकालाई विद्यालयसम्म पुर्याउन सहयोग पुग्ने बताउनुभयो। यसले बालबालिकाको शिक्षाको अधिकार सुनिश्चित गर्ने उल्लेख गर्दै उहाँले संविधानले प्रत्याभूत गरेको अधिकारअनुसार प्रदेश सरकारसँगको समन्वयमा कार्यक्रम सञ्चालन गरिएको जानकारी दिनुभयो। वडा हुँदै सम्पूर्ण नगरपालिकालाई नै अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा गर्ने लक्ष्य रहेको उहाँले स्पष्ट पार्नुभयो।

कालिका नगरपालिकाले वडा नं. ४ बाट सुरु गरेको अनिवार्य तथा निःशुल्क शिक्षा वडा घोषणा अभियानअन्तर्गत यसअघि वडा नं. ९, ५ र १० लाई घोषणा गरिसकेको छ। वडा नं. १ घोषणा भएसँगै अभियानले थप गति लिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाभित्र हाल ३३ वटा सामुदायिक तथा ११ वटा संस्थागत गरी कुल ४४ वटा विद्यालय सञ्चालनमा रहेका छन्। २०८२ साल चैत महिनामा संकलन गरिएको तथ्यांकअनुसार नगरपालिकामा अझै १६३ जना बालबालिका विद्यालय बाहिर रहेका छन्। तीमध्ये केही बालबालिका हाल विद्यालय भर्ना भइसकेका छन्।
नगरपालिकाको शिक्षा शाखाकी सविना श्रेष्ठका अनुसार विद्यालय बाहिर रहेका अधिकांश बालबालिका फरक क्षमता भएका छन्। हाल १६३ जना अपाङ्गता भएका बालबालिका विद्यालय शिक्षाको पहुँचभन्दा बाहिर रहेको तथ्यांक छ।
उनीहरूलाई शिक्षामा जोड्न प्रदेश सरकारले निर्धारण गरेको कार्यविधिअनुसार शैक्षिक सामग्री वितरणसहित विभिन्न सहयोगात्मक कार्यक्रम सञ्चालन गर्ने योजना अघि बढाइएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले सबै विद्यालय उमेरका बालबालिकाको शिक्षामा पहुँच सुनिश्चित गर्दै क्रमशः सम्पूर्ण नगरपालिकालाई अनिवार्य तथा निःशुल्क शिक्षा नगर घोषणा गर्ने लक्ष्य राखेको छ।
कालिका नगरपालिकाका उपप्रमुख विमला तामाङ, वडा नं २ का वडा अध्यक्ष लक्ष्मण पौडेल, वडा नं ५ का वडा अध्यक्ष दीपकवहादुर भट्टराई, वडा नं ६ का वडा अध्यक्ष टिकाराम रेग्मी, विभिन्न १४ वटा स्थानीय टोल विकास संस्थाका अध्यक्ष, प्रतिनिधिहरू, विद्यार्थीलय व्यवस्थापन समितिका पदाधिकारीहरू, शिक्षक लगायत विभिन्न सामाजिक संघ संस्थाका प्रतिनिधिहरूको सहभागीता थियोे ।
कार्यक्रम वडा अध्यक्ष शन्तवीर स्याङतानको अध्यक्षतामा आयोजना गरिएको हो ।
–00—

