प्रधानमन्त्रीसँग छलफलपछि गृहमन्त्री गुरुङ सुनसरी प्रस्थान

काठमाडौं, १४ साउन  । गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनामा ज्यान गुमाएका दुई जनाका परिवारलाई भेट्न आज सुनसरी जाने भएका छन्।

गृह मन्त्रालयका अनुसार मन्त्री गुरुङले साउन १० गते सुनसरीमा भएको झडपमा मृत्यु भएका ओमप्रकाश मेहता तथा सोही घटनामा घाइते भई उपचारका क्रममा आज निधन भएका जयप्रकाश मेहताका परिवारसँग भेटघाट गर्ने कार्यक्रम रहेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार गृहमन्त्री गुरुङसँगै स्वास्थ्य मन्त्री निशा मेहता पनि सुनसरी जानेछिन्। सुनसरी स्वास्थ्य मन्त्री मेहताको गृहजिल्ला हो।

यसअघि तराईका पछिल्ला घटनाक्रमबारे प्रधानमन्त्री बालेन शाह र गृहमन्त्री गुरुङबीच छलफल भएको थियो। सोही छलफलपछि गृहमन्त्री गुरुङ देवानगञ्ज गाउँपालिका–३, कप्तानगञ्ज पुगेर घटनास्थलको अवस्था बुझ्नुका साथै पीडित परिवारसँग भेट गर्ने कार्यक्रम तय गरिएको जनाइएको छ।–00–

Share:

सम्बन्धित समाचारहरु